उद्योग वाणिज्य संघले बुझायो मन्त्रीलाई ज्ञापन

नेपालगन्ज उद्योग वाणिज्य संघले शुक्रबार नेपालगन्जमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई उद्योगी, व्यवसायीका तर्फबाट विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय उद्योगी, व्यवसायीले भोगेका समस्याहरू समाधानका लागि पहल गर्न संघले नेपालगन्जमा सरकारका मन्त्रीहरू आउँदा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराउँदै आएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीम बहादुर रानाभाटले बाँकेका उद्योगी, व्यवसायीका समस्या अवगत गराउँदै समाधानको पहल गर्नका लागि ज्ञापनपत्र बुझाएको जानकारी द्यिएका छन् ।

ज्ञापनपत्रमा जमुनाहा नाकाबाट हरेक दिन ६ करोड २५ लाख रूपैयाँ बराबरको मालसामान भित्रिने गरेको भन्दै संघले राजश्व छली हुनुका साथै व्यवसायीले नोक्सान व्यहोर्नु परेको उल्लेख छ ।

‘नेपालगन्ज भन्सार कार्यालयले जमुनाहा नाका क्षेत्रमै कम्तीमा पनि ३० वटा भन्सार काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएर छिटोछरितो कर असुली गरेमा आयात गरिने सामानमा औसत २३ प्रतिशतका दरले मात्र मन्सार महसुल संकलन हुँदा पनि यो नाकाबाट दैनिक १ करोड ४३ लाख ७५ हजार रूपैयाँ राजस्व संकलन हुने देखिन्छ’, ज्ञापन पत्रमा उल्लेख छ, ‘तसर्थ, तत्कालै भन्सार काउण्टरको संख्या वृद्धिका लागि पहल गर्न जोडदार माग गर्दछौ । त्यसैगरी १०० रूपैयां मन्दा बढीको सामान आयात गर्दा भन्सार महसुल तिर्नु पर्ने प्रावधानलाई अतः प्रभावकारी बनाउन अनुरोध गर्दछौं ।’

भारतबाट किनमेल गरेर फर्केका ग्राहकको सामान चेकजांच गरी जमुनाह नाकाको यात्रु शाखाबाटै राजस्व संकलन गर्ने कार्यलाई प्रभावकारी बनाउन संघले माग गरेको छ । जमुनाहा नाकामा थन्काएर राखेको स्क्यानर मेसिनलाई सञ्चालनमा ल्याउन र नयाँ फेस रिडर मेसिन जडान गर्न चेकजाँच प्रभावकारी बनाउन संघले माग गरेको छ ।

‘सीमावती रूपैडिहामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जस्तै जमुनाहा नाकामा पनि भारत प्रवेश गर्दा र भारतवाट नेपाल आउंदा सबै यात्रीहरूलाई अनिवार्य रूपमा परिचय पत्रका चेकजांच गर्ने व्यवस्था लागुका लागि पहल गर्न माग गर्दछौं’, ज्ञापन पत्रमा माग गरिएको छ, ‘जमुनाह नाकाको पूर्व र पश्चिमको १÷१ किलोमिटरको दुरीमा आधा दर्जन भन्दा बढी तस्करी गर्ने माकाहरू रहेका छन् । त्यहाँबाट हुने चोरी पैठारी र राजस्व छलि रोक्न लामो दुरीको सीसी क्यामेरा जडान गरेर कडा निगरानी गर्न माग गर्दछौं ।’

स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना र सञ्चालन बिना देशको आर्थिक विकास हुन नसक्ने उम्पाइका साथ लुम्बिनी, कर्णाली र सुदुरपश्चिमको प्रमुख नगर नेपालगन्जमा रहेको नेपालगन्ज उद्योग वाणिज्य सघले भारत र चिनका मेसिनरी उत्पादकहरूलाई निम्त्याएर मेसिनरी एक्स्पो लगाउने र स्थानीय सरकारहरूसंग समन्वय गरी उद्यमी उत्पादन गर्ने योजना बनाएको उल्लेख गर्दै ज्ञापन पत्रमा सो का लागि जग्गा र स्थायी सरचना आवश्यक पर्ने भएकोले विगतमा संघले भोगाधिकार प्राप्त गरेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १८, कारकांदो स्थित सडक डिभिजनको १० विगाह जग्गा पुनः भोगचलन वा प्रचलित स्थानीय दररेटमा लिजमा उपलब्ध गराउने व्यवस्थाका लागि सहजीरकण गर्न अनुरोध गरिएको छ ।

नौबस्तामा स्थापना भइरहेको औद्योगिक क्षेत्रको कार्य सम्पन्न गरी यथाशक्य छिटो सञ्चालनमा ल्याउन संघले माग गरेको छ ।
संघका तर्फबाट अध्यक्ष टंक धामी र महासचिव रानाभाटले मन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

Exit mobile version