‘ढुवानी सेवासम्बन्धी छुट्टै ऐनको आवश्यकता छ’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पद्म गिरीले ढुवानी सेवासम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताउनुभएको छ ।

राजधानीमा आयोजित ढुवानी व्यवसायी महासङ्घ नेपालको छैटाँै महाधिवेशन तथा १५औँ वार्षिक साधारणसभामा उहाँले विज्ञहरुसँग छलफल गरेर उक्त ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “ढुवानी व्यवसाय क्षेत्रका विधेयक छलफलमा छन् । सबै नसमेटिन सक्छन् । त्यसैले छुट्टै ऐनको आवश्यकता छ जस्तो लाग्छ ।” उहाँले ढुवानी व्यवसायले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याए पनि भूकम्प, कोभिड तथा आर्थिक मन्दीको मारमा परेको बताउनुभयो ।

त्यसैगरी महासङ्घका महासचिव अरूणकुमार श्रेष्ठले महामारीका बेला सामानको नियमित आपूर्ति गरेका ढुवानी व्यवसायीहरू आर्थिक मन्दीको भार खेपिरहेको दुखेसो पोख्नुभयो । श्रेष्ठले भन्नुभयो, “सरकारले ढुवानी सेवामा समेत मूल्य अभिवृद्धि कर लगाउनाले पीडा थपिदिएको छ जसले गर्दा आम नागरिकले मूल्य वृद्धिको मार खेप्नुपरेको छ ।” उहाँले करसम्बन्धी व्यवस्था खारेजीको माग गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्रता पार्टीका सांसद शिव नेपालीले यातायात व्यवसायीको हकहितका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी नेपाली कांगे्रसका सांसद रामहरि खतिवडाले निजी क्षेत्र महत्वपूर्ण खम्बा रहेकोले यातायात तथा ढुवानी व्यवसायीका समस्या समाधानमा सहयोग गर्ने जनाउनुभयो ।

ढुवानी व्यवसायका अग्रज व्यक्तित्व सरदार प्रितम सिंहलाई सम्मान गरिएको थियो । साथै गण्डकी विश्वविद्यालयले ढुवानी व्यवसायसँग सम्बन्धित नीति अनुसन्धान गरी आवश्यक प्रतिवेदन तयार पार्ने विषयमा विश्वविद्यालयका रजिस्ट्रार डा कैलाश तिमिल्सिना र ढुवानी व्यवसायी महासङ्घबीच सम्झौता गरेको छ ।

Exit mobile version