पाल्न नसक्दा नेपालगन्जले घोडा लिलामी गर्दै

पाल्न समस्या भएपछि नेपालगन्ज उपमहानगरपालिकाले घोडाहरुलाई लिलामीमा बिक्री गर्न थालेको छ । २१ नम्बर वडामा सञ्चालित काञ्जी हाउसमा बन्दी रहेका चारवटा घोडा लिलाममा बिक्री गर्न लागेको हो ।

सेतो घोडाको सात हजार, हल्का खैरो घोडाको १२ हजार पाँच सय, गढा खैरो घोडाको १४ हजार र खैरो घोडाको १६ हजार रुपैयाँ अनुमानित न्यूनतम मूल्य तोकिएको छ । यसभन्दा अघि आठवटा भए पनि चारवटा मरेकाले बचेका चारवटालाई लिलामीमार्फत बिक्री गर्न थालेको राजस्व शाखाका अधिकृत वीरबहादुर थापा मगरले जानकारी दिए । ‘बेलाबेला नेपालगन्जमा छाडारुपमा छाडिएका घोडा नियन्त्रणमा लिइएको हुन्छ,’ उनले भने, ‘घोडाको सम्बन्धित व्यक्ति सम्पर्कमा आए जरिवाना काटेर घोडा जिम्मामा दिन्छौं । नत्र भने यसरी लिलामीमार्फत बिक्री गर्छौं ।’ घोडा लिलामीबाट आएको रकम नगरको राजस्वमा जम्मा हुने राजस्व शाखाका अधिकृत थापा मगरले बताए ।

नियन्त्रणमा लिइएका घोडाको आहारा समस्या हुँदा उनीहरुलाई पाल्न समस्या भएकाले लिलामीमा बिक्री गर्ने गरेको नगरपालिकाले स्रोतले जनाएको छ । ‘नियन्त्रणमा लिइएका घोडालाई पाल्न सकिँदैन,’ स्रोतले भन्यो, ‘त्यसैले बिक्री गर्छौं ।’

Exit mobile version