देशमा आजः ८ बजे ८ खबर

1.         मध्यपहाडी लोकमार्गअर्न्तगत बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानी भन्ने स्थानमा यात्रुबस पल्टिँदा ९ जनाको मृत्यु भएको छ । घटनास्थलमा ७ र उपचारको लागि बुर्तिवाङ लैजाने क्रममा २ जनाको मृत्यु भएको हो । घटनामा २५ जना घाइते भएका छन् । बसमा चालक सहित ३३ जना सवार रहेको खुलेको छ । दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

बसमा चालक सहित ३३ जना सवार रहेको खुलेको छ । रुकुम पश्चिमबाट सोमबार बिहान साँढे ११ बजे काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको यात्रु बस साँझ ५ बजेर २० मिनेटमा उक्त स्थानमा दुर्घटनामा परेको थियो । उक्त बस सडकदेखि १ सय ५० मिटर तल खसेको उद्दारमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजकुमार बिकले बताए । बस भिर र खोंचमा खसेकोले उद्दारमा समेत कठिनाइ भएको थियो ।

2.         सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पताल लागिएको छ । उनको स्वास्थ्य अवस्थाका कारण हिरासतको अवधिभर अस्पतालमा बस्न पाउने गरी काठमाडौं जिल्ला अदालतले आदेश दिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो ।

3.         पूर्व-पश्चिम राजमार्गअन्तर्गत कैलाली र बर्दिया जोड्ने कर्णालीको चिसापानी पुल एक सातापछि सञ्चालनमा आएको छ । २८ फागुनमा वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा ५ ख ५२९७ नम्बरको ट्रकमा आगलागी हुँदा पुलको १४ सपोट डोरीमा आंशिक क्षति पुगेको थियो । त्यसपछि एक सातादेखि बन्द रहेको पुल सोमबारबाट सञ्चालनमा आएको हो ।

4.         आउँदो वैशाख १५ गते हुने उपचुनावका लागि इलाम–२ मा २० वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगले दर्ता भएका दललाई चुनाव चिह्नको क्रम निर्धारण गरेको जनाएको छ । यस्तै बझाङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा हुने उपचुनावका लागि १९ वटा दल दर्ता भएका छन् ।

5.         प्रहरीले सर्वोच्च अदालत परिसरबाट अर्धस्वचालित हतियारसहित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अङ्गरक्षकसहित दुई जनालाई पक्राउ गरेको छ । हतियार र त्यसमा लाग्ने एक सय राउन्ड गोलीसहित झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र राजकुमार धिताल पक्राउ परेका नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीम ढकालले जानकारी दिए ।

6.         नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मङ्गलबार पदाधिकारी बैठक बोलाएको छ  । पार्टी सचिव गणेश शाहले प्रधानमन्त्रीनिवास बालुवाटारमा मङ्गलबार बिहान पदाधिकारी बैठक बोलाएको जानकारी दिनुभयो । अवैध सुन प्रकरणमा आरोपित पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि पदाधिकारी बैठक बोलाएको हुन सक्ने उनले बताए ।

7.         फागुनदेखि सुरु भएको डढेलो र आगलागीका घटना चैत लागेपछि एक्कासि बढेका छन् । घटना देशव्यापी रूपमा नै विस्तार भएका छन् । पछिल्लो २४ घण्टामा मात्र आगलागीका ५५ घटना भएका छन् । तिनमा परेर तीन जनाको ज्यान गएको र तीन जना घाइते भएका छन् । घटनामा चार करोड ८५ लाख रुपियाँ बराबरको आर्थिक क्षति भएको छ । हिउँद लागेसँगै आगलागी र डढेलासम्बन्धी विपत्का घटना बढ्ने भए पनि आवश्यक सावधानी अपनाउन नसक्दा बर्सेनि यसबाट हुने आर्थिक क्षतिको दर बढिरहेको छ ।

8.         कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा १२ करोड २१ लाखको मकै, पाँच करोड ९४ लाखको चामल र एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ ।

Exit mobile version