आलोचनापछि भेरी अस्पतालले भन्यो, ‘पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छौं’

भेरी अस्पतालले पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको जनाएको छ । केही दिन अघि भेरी अस्पताल हाताभित्र भिडियो, फोटो तथा समाचार संकलनमा रोक लगाइएको थियो ।

अस्पताल परिसरभित्र फोटो, भिडियो खिन्न र समाचार संकलन गर्नु परेमा कार्यालयका सूचना अधिकारीसँग समन्वय गरेर मात्र कार्य गर्न अनुरोध गरेको थियो । जसलाई पत्रकार र पत्रकारका संघ संगठनहरुले प्रेस स्वतन्त्रता विरोधी कार्य भएको बताएका थिए । सामाजिक सञ्जालमा आलोचनासमेत भएको थियो । उक्त सूचनाप्रति व्यक्त गरिएका चासो र चिन्ताप्रति अस्पताल गम्भीर भएको एक सूचना प्रकाशित गरेर अस्पतालले धारणा सार्वजनिक गरेको छ ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा समाचार संकलन गर्न/गराउन कुनै पनि मिडिया तथा पत्रकारलाई रोक लगाउने मनसाय अस्पताल प्रशासनको नरहेको भेरी अस्पतालले स्पष्ट पारेको छ । तर, अस्पतालभित्रका केही संवेदशील ठाउँमा रिपोर्टिङ गर्दा भने सञ्चारकर्मीहरुले गम्भीरता बुझिदिन अनुरोध गरिएको छ ।

Exit mobile version