उद्योगमै लाग्यो ताला, ५० हजार जरिवाना

कानुन, मापदण्डको पालना नगरी नै प्रशोधित पानी उद्योगले पानी बिक्रीका लागि बजारमा पठाउने गरेका छन् । बजार अनुगमनका क्रममा पटकपटक पानी उद्योगको कैफियत भेटिने गरेको छ । पटकपटक बजार अनुगमन समितिले पानी उद्योगको उत्पादन नै बन्द गर्दै जरिवाना गर्दै आएको छ ।

बुधबार पनि नेपालगन्जमा बजार अनुगमनका क्रममा दर्ता नभई पानी उद्योग सञ्चालन भएको खुलेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङ्गको नेतृत्वमा रहेको अनुगमन समितिले बुधबार दुई वटा पानी उद्योगको अनुगमन गरेको छ । अनुगमनमा क्रममा नेपालगन्ज–५ मा रहेको गोल्डेन प्रशोधित पिउने पानी उद्योग नेपालगन्जले पानी उत्पादनको अनुज्ञापत्र नलिई उत्पादन तथा बिक्री वितरण गरेको फेला परेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण पोखरेलले अनुगमन समितिले उक्त उद्योगलाई ५० हजार जरिवाना गर्दै उद्योग शिल गरेको जानकारी दिएका छन् । उद्योगमा रहेको २६ वटा जार पनि अनुगमन समितिले बिक्रीमा रोक लगाएको छ ।

त्यस्तै, रारा ड्रिङकिङ वाटरले पनि यसअघि अनुगमन टोलीले दिएको निर्देशनको पालना गरेको नपाइएकोले प्रशासनमा कारण सहित उपस्थित हुन समितिले निर्देशन दिएको छ ।

Exit mobile version