सरकारी निवासमा आगजनी गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत नै पक्राउ

दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्ने निवासमा ढुंगामुढा र आगजनी गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत नै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाले आइतबार प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीलाई पक्राउ गरेको प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

गत फागुन २५ गते मध्यराति प्रशासकीय अधिकृत अधिकारी बस्ने सरकारी निवासमा अज्ञात समूहले ढुंगामुढा र आगजनी गरेको भनिएको थियो । त्यसमाथि अनुसन्धान गर्नेक्रममा प्रशासकीय अधिकृत अधिकारीले नै लगाएको देखिएको प्रहरी निरीक्षक सिंहले बताए ।

गाउँपालिकाले पनि अधिकारीविरूद्ध जाहेरी दिएको उनले बताए । उनीमाथि आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले किन त्यसो गरे भन्ने नखुलेको प्रहरी निरीक्षक सिंहले बताए ।

Exit mobile version