वडा नं. १८ मा ३५ लाखको नयाँ योजना

थप पूर्वाधार विकास निर्माणमा जुटेका नेपालगन्ज वडा नं.–१८ का वडाध्यक्ष दीपककुमार बर्माले विहीवार अर्काे पूर्वाधारमा काम शुभारम्भ गरेका छन् । चालु आर्थिक वर्षको पाँचौ परियोजना शिलान्यास गर्दै वडाध्यक्ष बर्माले वडाको क्षेत्रभित्र रहेका सबै टोललाई आवश्यकता अनुसारका भौतिक पूर्वाधार बिकास गर्ने योजना सुनाए ।

बिहीबार नागरिक टोल अन्तर्गत पण्डित महाराजको घर हुँदै दक्षिण कविवाससम्मको सडक निर्माण शुभारम्भ गरिएको हो । वडाध्यक्ष बर्माका अनुसार, उक्त नागरिक टोलमा निर्माण हुन लागेको बाटो करीब ३ सय ५० मिटरको आर.सी.सी नालासहितको स्तरीय हुनेछ । त्यसको निर्माण बजेट ३५ लाखको छ । ‘वडाको योजना अनुसार आवश्यक मागलाई प्राथमिकतामा राखेर योजना कार्यान्वयन गरिरहेका छौं,’ वडाध्यक्ष बर्माले टोलवासीहरूसँग भने, ‘बजेटको सिमितताले खुम्चिनु परेपनि स्थानीय तहको भरमात्रै नपरेर प्रदेश तथा संघीय सरकारसम्म पुगेर बजेट ल्याउन मिहिनेत गरिरहेको सुनाए ।’

संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्ज अन्तर्गत शुरू भएको निर्माण शिलान्यास कार्यक्रममा वडा सदस्यसहित टोलबासी, संघीय आयोजना कार्यालयको सहयोगी र वडाका अगुवाहरूको उपस्थिति थियो । ‘वडाका सम्पूर्ण टोलहरूमा सहज आवागमन हुने वातावरण निर्माण गर्न तल्लीन छु,’ वडाबासीसँग जनप्रतिनिधिबीचको सम्बन्ध स्थापनालाई बिश्वासको आधार तयार गरिरहेको धारणा राख्दै बर्माले भने, ‘चालु आर्थिक वर्षमा वडाभित्र रहेका धेरै सडक स्तर उन्नति गर्ने गरि लागिरहेका छौं ।’

चालू आर्थिक बर्षमा विशाल चोक मोडेल एकेडेमी टोल, छ कुने चोक लगदहवाभित्र नाला तथा भित्री सडक निर्माण, यातायात कार्यालयदेखि पूर्व गोर्खा साइकल हुँदै स्प्रीङ्गडेल एकेडेमी स्कुल टोलमा सडक तथा नाला पूर्वाधार निर्माण कार्य भइरहेको वडाध्यक्ष बर्माले बताए ।


‘त्यसबाहेक शिक्षा क्षेत्रमा आवश्यक भवन निर्माण, स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट, सामाजिक सहकार्य गरिनुका साथै खेलकुल क्षेत्रमा समेत लगानी गरिरहेका छौं,’ वडाध्यक्ष बर्माले भने ।

Exit mobile version