डढेलोमा परी घाइते नन्दरामको उपचारको क्रममा मृत्यु

कालिकोटको खाडाचक्र-५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका नन्दराम चौलागाईंको पनि मृत्यु भएको छ । गत चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परी घाइते भएका ५० वर्षीय चौलागाईंको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनको ४ दिनदेखि आईसीयूमा राखेर उपचार हुँदै थियो । उपचारका लागि सबै प्रयास गरे पनि सफल नभएको डा. केएन पौडेलले बताए । चौलागाईंको आज सुर्खेतस्थित भेरी नदीमा दाहसंस्कार गरिने आफन्त हिरामणि चौलागाईंले बताए । आगोमा जलेर घाइते भएकी उनकी १२ वर्षीया छोरी हेमन्तीको सोमवार दिउँसो मृत्यु भएको थियो ।

शुक्रवार घरमुनिको वनमा गोठालो गएका बुबालाई दिउँसोको खाजा पुर्याउन गएकी हेमन्ती र उनका बुबा आगोमा जलेर घाइते भएका थिए ।  नन्दरामका ४५ वटा बाख्रा पनि जलेर मरेका थिए । घाइते बाबुछोरीलाई शनिवार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि थप उपचारका लागि बेलुकी हेलिकोप्टरबाट सुर्खेत लगिएको थियो ।

Exit mobile version