आठ महिनामा साढे दुई अर्बको सिमेन्ट निर्यात

चालु आर्थिक वर्षको आठ महिनामा साढे दुई अर्ब रुपियाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि फागुन महिनासम्म २ अर्ब ४७ करोड १७ लाख रुपियाँको क्लिङ्कर तथा सिमेन्ट निर्यात गरेको हो । गत वर्ष सो अवधिमा १९ करोड ४१ लाख १८ हजार रुपियाँको समेन्ट र क्लिङ्कर निर्यात भएको थियो । मुलुकबाट एक खर्ब रुपियाँभन्दा बढीको कुल निर्यात भइरहेका बेला सिमेन्टको निर्यातमा उलेख्य वृद्धि भएको हो ।

 विभागका अनुसार आठ महिनाको अवधिमा १ अर्ब १८ करोड ८७ लाख रुपियाँको क्लिङ्कर र १ अर्ब २८ करोड ३९ लाख रुपियाँको सिमेन्ट निर्यात गरेको विभागले जनाएको छ । सरकारले सिमेन्ट निर्यातमा प्रोत्साहन गर्ने नीति लिएपछि चालु आर्थिक वर्षको सुरुदेखि नै सिमेन्ट निर्यात बढ्दै गएको हो ।

सरकारले बजेटमार्फत सिमेन्ट निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेपछि २०७९ साउनदेखि निकासी सुरु भएको थियो । गत आर्थिक वर्षभरिमा ७७ करोड ९३ लाखको सिमेन्ट र क्लिङ्कर भारत निकासी भएको थियो । सरकारले स्वदेशी वस्तु निर्यातलाई प्रोत्साहन गरेपछि भारतीय सीमावर्ती क्षेत्रमा सिमेन्ट–क्लिङ्कर निर्यात बढ्न थालेको हो ।

Exit mobile version