नक्कली प्रमाणपत्र पेस गरेपछि सइलाई कैद र जरिवाना

नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको भन्दै नेपाल प्रहरीमा कार्यरत एकजना सइ दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार उक्त मुद्दामा फैसला गर्दै कसुर कायम हुने फैसला गरेको हो ।

नेपाल प्रहरीका सइ राजनसिंह भण्डारीको शैक्षिक योग्यताको प्रमाणपत्रका विषयमा फैसला गर्दै कैद तथा जरिवाना हुने फैसला भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिनका क्रममा प्रहरी नायब निरीक्षक (सइ) भण्डारीले बढुवा प्रयोजनका लागि नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको थियो ।

अख्तियारले छानबिनपछि ५ जेठ २०७७ मा मुद्दा दायर गरेको थियो । असइ भण्डारीले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषदबाट शैक्षिक योग्यताको झुठा प्रमाणपत्र लिएको पुष्टि भएको छ । विशेषले भण्डारीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य तेजनारायणसिंह राईको इजलासले यस्तो फैसला गरेको हो ।

Exit mobile version