बढ्यो साइबर अपराध

प्रविधिको प्रयोग बढ्दै जाँदा त्यसको दुरूपयोग गरी हुने अपराधिक घटनाहरू समेत वृद्धि हुँदै गएको छ । प्रविधिको प्रयोग गरी हुने अपराधिक घटनाको अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउनु प्रहरीका लागि समेत चुनौतिपूर्ण बनेको छ । साइबर सम्बन्धी अपराधको अनुसन्धानका लागि विज्ञ जिल्ला–जिल्लामा नहुँदा त्यसखालको अनुसन्धान र कारवाही चुनौति बनिरहेको हो ।

नेपाल प्रहरीको साइबर ब्यूरोले साइबर अपराधका घटनामा कानुनी कारवाही सँगै सचेतनाको आव्हान पटकपटक गर्दै आएको छ । ब्यूरोका उप निर्देशक प्रहरी उपरीक्षक दिपक राज अवस्थीले शुक्रबार मात्रै ब्यूराको तर्फबाट अनुरोध सार्वजनिक गर्दै इसेवामा हुन सक्ने ठगी बारे जानकारी गराएका छन् ।

‘विभिन्न फोन नम्बरहरूबाट म इ सेवा वा कनेक्ट आइपीएसबाट बोलिरहेको छु, तपाईलाई बोनस÷चिठ्ठा प्राप्त भएकाले एसएमएस मार्फत पठाइएको लिङ्क वा सो लिङ्क अन्य नम्बरमा फरवार्ड गर्नुहोस्’ भन्ने जस्ता फोन कल ठगीका लागि आउन सक्ने तर्फ साइबर ब्यूरोल सचेत गराएको हो । त्यस्ता लिङ्क क्लिक गर्दा वा फरवार्ड गर्दा इसेवा ह्याक गरी आर्थिक ठगी हुने गतिविधि बढिरहेकाले भ्रमक फोन कलहरूमा विश्वास नगर्न ब्यूरोले अनुरोध गरेको हो ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘पर्सनल टेष्ट अफ इङ्गलिस’ बुक गरिदिन्छु भनेर अग्रिम रूपमा अनलाइन वालेटमा रकम जम्मा गर्न ठगीको आरोपमा बाँकेको कोहलपुरका एक दुई सहित केही व्यक्तिलाई पक्राउ गरेको गत फागुन १२ गते साइबर ब्यूरोले जानकारी दियो । कोहलपुर वडा नं. ११ का दोमन केसी काठमाठौं, १४ का तिरूपति पाण्डे र बाग्लुङ्गका सुवास कँडेल ललितपुरबाट ब्यूरोले पक्राउ गरी विद्युतीय माध्यमबाट ठगी कसुरमा कारवाही अगाडि बढायो । उनीहरूबाट ८ थान मोबाइल, २३ सिमकार्ड तथा २ वटा ल्यापटप पनि प्रहरीले बरामद गरेको थियो ।

त्यस्तै गत फागुन २० गते साइबर ब्यूरोले नाबालिकाले पोष्ट गरेको फोटो डाउनलोड गरी विभिन्न फेक आइडी खोली नाबालिकाको फोटो प्रयोग गरी अश्लिल क्याप्सन लेखेको आरोपमा सिन्धुपाल्चोकका सुमन खत्री पक्राउ परे । उनले परिचय लुकाउन भर्चुअल प्राइभेट नेटवर्क प्रयोग गरेको अनुसन्धानका क्रममा फेला परेको ब्यूरोका सूचना अधिकारी अवस्थीले जानकारी दिए ।

माथिका घटना साइबर अपराध सम्बन्धी केही उदाहरण मात्रै हुन् । पछिल्ला बर्षहरू यस्ता धेरै उजुरीहरू साइबर ब्यूरामा पुग्ने गरेका छन् । साइबर ब्यूरोडमा दर्ता हुने उजुरीहरू बढ्दै गएको तथ्यांकले देखाउँछ ।

पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६÷७७ मा साइबर अपराधसँग सम्बन्धित दुई हजार ३०१ उजुरी आएकामा चालु आर्थिक वर्ष अर्थात गत साउनदेखि २३ फागुनसम्म १२ हजार ७८९ उजुरी आएका छन् ।

आर्थिक वर्ष २०७७÷७८ मा तीन हजार ९०६, आव २०७८÷७९ मा चार हजार ६८६ र आव २०७९÷८० मा नौ हजार १३ निवेदन परेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार चालु आवको फागुन २३ गतेसम्म अनलाइन माध्यमबाट पीडित बालकका १६४, बालिकाका २४२, महिलाका पाँच हजार ७०३, पुरुषका छ हजार १७७ र अन्यमा ५०३ गरी जम्मा १२ हजार ७८९ निवेदन साइबर ब्यूरोमा परेको छ ।

साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दीपकराज अवस्थीले अनलाइन ठगी, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गर्ने, वेबसाइट ह्याकिङ लगायतका अपराधका विभिन्न स्वरूपमध्ये पछिल्लो समय ब्यूरोमा आर्थिक ठगीका निवेदन बढी आएको जानकारी दिए ।

साइबर अपराधका प्रवृत्तिमा विभिन्न किसिमका नग्न तस्बीरमा व्यक्तिको मुहार जोडी अनलाइन प्रविधि राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोली बेइज्जत गर्ने तथा दुःख दिने, सरकारी तथा अन्य सङ्घ संस्थाको वेभसाइट ह्याकिङ गर्ने, अनलाइन ठगी गर्नेजस्ता गतिविधि पर्दछन् ।

Exit mobile version