युद्धविराम वार्तापछि सिआइए र मोसाद प्रमुखहरूले छाडे कतार

अमेरिकी गुप्तचर प्रमुख बिल बर्न्स र उहाँका इजराइली समकक्षी डेभिड बर्नियाले गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौताको वार्तापछि शनिबार राति कतार छाड्नुभएको वार्ताबारे जानकारी दिने एक स्रोतले बताएको छ ।

“सिआइए र मोसाद प्रमुखहरू आफ्ना सम्बन्धित टोलीलाई पछिल्लो चरणको वार्ताका बारेमा जानकारी गराउन दोहाबाट प्रस्थान गर्नुभएको छ”, वार्ताको संवेदनशीलताका कारण नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भनेको छ, “वार्ता बन्धक र कैदीहरूको आदान प्रदानको विवरण र अनुपातमा केन्द्रीत थियो, प्राविधिक टोलीहरू दोहामै रहने छन् ।”

अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरू इजराइल र हमासबीच दोस्रो युद्धविराम सुनिश्चित गर्न र इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा हमासले कब्जामा लिएका बन्धकहरूलाई रिहा गर्ने प्रयासमा धेरै सातादेखि पर्दापछाडिको वार्तामा संलग्न छन् । 

गत साता मुस्लिमहरूको पवित्र महिना रमजान सुरु हुनुअघि युद्धविराम सुनिश्चित गर्ने प्रयास असफल भएपछि पुनः वार्ता सुरु भएको एक सातापछि इजराइलले आफ्नो जासुसी एजेन्सी प्रमुखको एक सातामा दोस्रो भ्रमणका लागि दोहा फर्किने शुक्रबार बताएको थियो । 

अक्टोबर ७ मा इजराइलमाथि आक्रमणका क्रममा हमासले करिब दुई सय ५० इजराइली र विदेशी बन्धकलाई कब्जामा लिएको थियो तर नोभेम्बरमा एक साताको युद्धविराममा दर्जनौँलाई रिहा गरिएको थियो । इजराइलका अनुसार गाजामा करिब एक ३० जना बन्धक रहेका छन् । तिनमा आठ सैनिक र २५ सर्वसाधारण गरी कूल ३३ जनाको मृत्यु भएको विश्वास गरिएको छ । 
Exit mobile version