बनाइँदै ‘लू’ प्रतिकार्य कार्यविधि

तातो हावा (लू) प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगन्जमा कार्यविधि बनाइने भएको छ । नेपालगन्ज उपमहानगरपालिका लू प्रतिकार्य योजना लागू गर्ने नेपालकै एक मात्र स्थानीय सरकार हो । सन् २०२१ देखि लू प्रतिकार्यका लागि काम गरिरहेको नेपालगन्जले कार्यान्वयनका लागि कार्यविधि बनाउन लागेको हो ।

नेपालगन्जको सिकाई र अनुभवका आधारमा तराईका अत्याधिक गर्मी हुने अन्य सहरहरूमध्ये धनगढीमा पनि यो कार्यक्रम भर्खरै सुरु भएको छ ।
त्यस्तै भैरहवा र विराटनगरमा पनि लू प्रतिकार्य योजना कार्यान्वयनको चरणमा छन् ।

‘लू’ प्रतिकार्य योजना अन्तर्गत कुलिंग सेन्टर (शितल केन्द्र) तथा सचेतना प्रवद्र्धनार्थ एलइडी डिस्प्ले सञ्चालन र संकाटापन्न बस्तीमा घरदैलो कार्यक्रमको सञ्चालन, ब्यवस्थापन र दिगोपनाका लागि कार्यविधि बनाउन सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले लू लाई प्रकोपको रूपमा लिई त्यस विरुद्ध जुध्न प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका वातावरण तथा विपद शाखा प्रमुख प्रकाश डिसीका अनुसार, नेपालगन्जमा अहिले एउटा कुलिंग सेन्टर निर्माणको कार्य अगाडि बढाइएको छ । बागेश्वरी मन्दिरको पूर्वपट्टी चिल्ड्रेन पार्कमा कुुलिंग सेन्टर निर्माणको काम अगाडि बढेको हो ।

लू प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगन्ज उपमहानगरपालिकाले चालू आर्थिक बर्षमा २० लाख रूपैयाँ विनियोजन गरेको छ । अत्याधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगन्जमा सर्वसाधारणलाई लू बाट जोगाउन चार वटा कुलिंग सेन्टर बनाउने लक्ष्य छ । बसपार्क, धम्बोझी र रामलिला मैदान क्षेत्रमा पनि कुलिंग सेन्टर बनाउने कार्ययोजना छ ।
अमेरिकन रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित ताता हावाको लहर लू जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत सोमवार कार्यविधि लेखन कार्यशाला गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीको आयोजनामा कार्यशाला गरिएको हो । रेडक्रस बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले कार्यशालामा कुलिंग सेन्टर, एलइडी डिस्प्ले र घरदैलो कार्यक्रम सञ्चालन, व्यवस्थापन र दिगोपनाका लागि समूह कार्य गरिएको बताए ।
कार्यशाला नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धन सिंह सम्झनाको सभापतित्वमा भएको
थियो ।

Exit mobile version