नेपालगन्जमा ‘साइकल उत्सव’

नेपालगन्जमा साइकल उत्सव गरिंदैछ । नेपालगन्ज साइक्लिङ क्लबले ‘साइकल उत्सव’ गर्न लागेको हो ।
पर्यटन प्रवर्द्धनका लागि आगामी माघ २६ र २७ गते ‘टूर दि ठाकुरद्वारा’ को छैठौं संस्करण घोषणा गर्न मंगलवार आयोजित कार्यक्रममा क्लबले नेपालगन्ज साइकल उत्सव – २०२४ आयोजनाको जानकारी दिएको हो । ‘यो नेपालगन्जको मौलिक कार्यक्रम हो,’ क्लबका अध्यक्ष प्रदीप सापकोटाले भने ।
साइकल यात्रामार्फत बाँके–बर्दियाको पर्यटन प्रवर्द्धन गर्न हरेक वर्ष ‘टूर दि ठाकुरद्वारा’ आयोजना हुँदै आएको छ । साइकल उत्सवका रूपमा गरिने विभिन्न इभेन्टमा टूर दि ठाकुरद्वारा पनि हुनेछ ।
मंगलवार ‘टूर दि ठाकुरद्वारा’को सचिवालय नेपालगन्जमा उद्घाटन गरिएको छ । सचिवालयको संघीय सांसद डा. धवलशमशेर राणाले उद्घाटन गरेका हुन् । संघीय सांसद डा. राणाले नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म हुने साइकलयात्रा जस्तै नेपालगन्जदेखि रारासम्म जाने गरी कार्यक्रम गर्न सके पर्यटन प्रवर्द्धनमा अझ टेवा पुग्ने बताए ।
हरेक वर्ष आयोजना गर्ने ’टुर दि ठाकुरद्वारा’ले बाँके र बर्दियामा रहेका धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटकीयस्थल तथा संस्कृतिको प्रचारप्रसार गर्दै आएको आयोजकको भनाइ छ ।
‘टुर दि ठाकुरद्वारा’को छैठौ संस्करणमा नेपाल र भारतका गरी करिब तीन सय साइकल यात्रीको सहभागिता रहने क्लबका अध्यक्ष सापकोटाको विश्वास छ । नेपालगन्ज साइक्ल उत्सवका क्रममा ‘टुर दि ठाकुरद्वारा’सँगै नेपालगन्जमा १२ वर्षमुनिका बच्चालाई लक्षित गरी किड्स साइकल रेस, कन्जरभेसन टक, रक्तदानलगायतका कार्यक्रम राखिएका छन् ।
अध्यक्ष सापकोटाका अनुसार, ‘टूर दि ठाकुरद्वारा’मा सहभागी हुन आएका नेपाल र भारतका प्रतिनिधिलाई नेपालगन्जमा बागेश्वरी मन्दिरको दर्शन, टाँगा सफारी, बाँके राष्ट्रिय निकुञ्जमा सफारी, रैथाने खाना खुवाउने, बर्दियामा थारु संस्कतिको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।
क्लबका निवर्तमान अध्यक्ष एवम् कार्यक्रम संयोजक सतिश निरौलाले ‘टूर दि ठाकुरद्वारा’मा साइकलयात्रासँगै पर्यटन, पर्यापर्यटन, वन्यजन्तु संरक्षण, धर्म र संस्कृतिको विषयमा छलफल समेत हुने बताएका छन् ।

साइकलमा विश्व भ्रमण गर्दै कर्णालीका युवक
कर्णाली प्रदेशका तीन युवक विश्व साइकल यात्रामा निस्किएका छन् । नेपालको पर्यावरण संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा टेवा पु¥याइ देशलाई विश्व सामु चिनाउने उद्देश्यले काठमाडौँको पशुपतिनाथबाट नेपालको राष्ट्रिय झण्डा लिएर उनीहरूले साइकल यात्रा गरेका हुन् ।
विश्वमा शान्तिको सन्देश फैलाउन तथा नेपालको पर्यटन विकास र पर्यावरण संरक्षण, जलवायु परिवर्तनका कारण नेपालले झेलेको विषम परिस्थितिबारे जानकारी दिनु यात्राको उद्देश्य भएको साइकलयात्री छायाँनाथरारा नगरपालिका–१ निवासी अजय मल्लले राससलाई टेलिफोनमा बताए ।
विश्व साइकल यात्रामा दैलेखका केशवप्रसाद रिजाल र सनतप्रसाद रेग्मीसहित तीन युवक छन् । मंगलवार पशुपतिनाथबाट सुरू भएको यात्राको पहिलो चरणमा भारत, पाकिस्तान, लाओस, थाइल्याण्ड, भुटान, बङ्गलादेश, चीन पुग्ने मल्लले बताए । यसअघि यो टोलीले मेचीदेखि महाकालीसम्मको साइकल यात्रा गरेको थियो ।

Exit mobile version