चिट चोराउनेहरु पाँच दिन हिरासतमा

चालु एसईई परीक्षामा प्रविधिको प्रयोग गरी प्रश्नपत्र लिक गर्ने र उत्तर प्रविधि मार्फत विद्यार्थीको मोबाइलमा पठाउने गिरोह विरुद्ध प्रहरी कारवाही अगाडि बढाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले शिक्षा ऐन बिपरीत कार्य गर्ने पाँच जना विरुद्ध जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जानकारी दिएका छन् ।

प्रहरी मंगलबार ज्ञानोदय विद्या निकेतन केन्द्रमा एसईई परीक्षामा भएको अमर्यादित व्यवहारबारे जानकारी पाएपछि अनुसन्धान गर्दै दुई शिक्षक सहित पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका पाँच जना विरुद्ध प्रहरीले जिल्ला अदालत बाँकेबाट पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरी प्रवक्ता डाँगीले बताए । उनले पक्राउ परेका व्यक्तिहरूमाथि शिक्षा ऐन २०२८ को दफा १७ बमोजिम छ महिना सम्म कैद वा एक लाख रूपैया सम्म जरिवाना वा दुबै सजाय हुन सक्ने बताएका छन् ।

प्रहरी अनुसन्धानका क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको एवन क्लासेस इन्ष्टिच्युटका म्यानेजिङ डाइरेक्टर ईरफान अली मेकरानीलाई नियन्त्रणमा लिई सोही ठाउँमा रहेको मोबाइल चेक गर्दा विज्ञान तथा प्रविधि विषयको प्रश्नको उत्तर लेखी पठाएको फेला पारेको थियो । त्यस्तै, सोही इन्ष्टिच्युटमा रहेका दिलिप विक र सन्तोष नेपालीलाई विज्ञान विषयको विज्ञान विषयको प्रश्नपत्र प्रिन्ट गरी कापीको पानामा उत्तर लेख्दै गरेको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उत्तर विद्यार्थीलाई पठाउन प्रयोग गरिएका ल्यापटप, मोबाइलहरू, प्रश्नपत्र र सोही प्रश्नका उत्तर लेखिएका उत्तर कापि नियन्त्रणमा लिएर अदालतमा म्याद थपका लागि लगेको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ मा रहेको लोटस बोर्डिङ स्कुलका शिक्षक अल्ताब खाँलाई पनि एसईई विज्ञान बिषयको प्रश्न पत्रको उत्तर लेखी बिद्यार्थीलाई पठाएको मोबाईल सहित फेला परेपनि नियन्त्रणमा लिएको थियो । त्यस्तै, प्रहरीले सोही स्कुलका प्रधानाध्यापक तपन कुमार शर्माले शिक्षक अल्ताब खाँलाई विज्ञान बिषयको उत्तर लेख्न पठाएको भनि खुल्न आएको भन्दै शर्मालाई पनि नियन्त्रणमा लिएको थियो ।

Exit mobile version