सकियो लुम्बिनीमा विराट चक्र विज्ञान

पाँच बूँदे लुम्बिनी संकल्पपत्र

हिमाल गैरे

बुद्ध जन्मस्थल लुम्बिनीमा जारी विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सव सकिएको छ ।

समापनका अवसरमा भव्य सहभागितासहित नेपाललाई विश्वशान्तिको केन्द्रको रूपमा विकास गर्ने अठोट गरिएको छ ।

शान्ति पर्यटन केन्द्र बनाउने ५ बूँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक गरिएको समापनमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) देखि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसम्मले ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्रको रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पु¥याउने संकल्प गरेका हुन् ।

लुम्बिनीका पूर्व मुख्यमन्त्रीसमेत रहेका, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतको उपस्थितिमा सार्वजनिक गरिएको संकल्पपत्रमा नेपाललाई विश्वशान्तिको केन्द्रको रूपमा विकास गर्ने उल्लेख गरिएको हो ।

संकल्पपत्रमा २०८१ सालको प्रवेशसँगै ध्यान र योगलाई नेपालभर प्रवद्र्धन गर्ने उल्लेख छ । साथै पूर्वीय संस्कृतिको प्रयोग तथा सम्वद्र्धनका लागि शिक्षा, स्वास्थ्य, कृषि, अर्थ, वाणिज्य, सुरक्षा, सार्वजनिक प्रशासन र परराष्ट्र विषयमा उपयुक्त पाठ्यक्रम र तालिमका लागि जनशक्ति तयार गर्ने संकल्प गरिएको जनाइएको छ ।

देशभर ध्यान र योग प्रर्वद्धन गर्न सबै सरकारी कार्यालय र पर्यटकीय स्थलमा ध्यान तथा योग पद्धतिको प्रयोगका लागि उपयुक्त व्यवस्था गर्ने संकल्प पनि गरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन, एमालेका महासचिव पोखरेल, राप्रपा अध्यक्ष लिङदेन, लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, संघीय सांसद बासुदेव घिमिरे, लुम्बिनीका प्रमुख सचिव राधिका अर्याल, योग गुरु एलपी भानु शर्मा लगायतकाले उक्त ७ बूँदामा हस्ताक्षर गरेका हुन् ।

जीवन विज्ञान प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष देवी शर्माले प्रस्ताव गरेको संकल्पपत्रमा सहभागीहरुले सहमति जनाएर हस्ताक्षर गरेका थिए ।

समारोहमा प्रधानमन्त्री प्रचण्डले प्रत्येक नागरिकको जीवन रुपान्तरण गर्न अर्काे क्रान्ति गर्ने समय आएको धारणा राख्दै नेपाल र नेपालीको समग्र हितका लागि वैज्ञानिक अध्यात्म प्रणाली अवलम्बन गर्दै देशको स्वास्थ्य, कृषि, अर्थ, सुरक्षा, वाणिज्य र परराष्ट्र क्षेत्रको अवधारणागत र संरचनागत सुधार गर्नुपर्ने बताएका थिए ।

बुद्धको ज्ञान प्राप्तिका लागि लुम्बिनीमा ध्यानको नारासहित सात दिनसम्म चलेको विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मक जागरण अभियानमा देशविदेशका पाँच हजारबढीले सहभागिता जनाएका थिए ।

‘कार्यक्रम निकै प्रभावकारी भएको छ, यो समुदाय र हरेक विद्यालयमा जानु पर्छ भन्ने लागेको छ,’ अभियानमा सहभागी नुवाकोटका विदुर ढुंगानाले दैनिक नेपालगन्जसँग भने, ‘अहिले पश्चिमा मुलुकले योग र आध्यात्मलाई उपयोगगरी पूर्वीय क्षेत्रमा केही परिमार्जन गरी प्रयोग गरेको पाइन्छ । जबकी हामी यसको श्रोत हौं ।’

सुर्खेतका नवराज ढकालले यसखालको आयोजना र संकल्पले नेपाल आध्यात्मिक पर्यटनका दृष्टिले विश्वमै अगाडी पुग्नसक्ने औल्याए । उनको भनाइ थियो, ‘यसका निम्ती नेपाल सरकारलाई ध्यानाकर्षण गराइनुपर्ने थियो ।’ प्रधानमन्त्रीकै सहभागिता र संकल्पले त्यो ध्यानाकर्षण पनि भएको ढकालको भनाइ छ ।

Exit mobile version