देशमा आजः ८ बजे ८ खबर

१. सुनसरीमा पाँच बुँदे सहमति पनि शुक्रबार बेलुकाबाट लागेको कर्फ्यू विस्तारै हटाउने तयारी गरिएको छ । फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि सुनसरीको पाँच वटा पालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको थियो ।

२. आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका छ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी मनोनयन दर्ता गराउनेमा नेकपा एमाले–माओवादीको साझा उम्मेदवार सुहाङ नेम्वाङ्ग लगायतले उम्मेदवारी दर्ता गराएका हुन् ।

३. गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पिस म्याराथनको सबै पुरस्कार नेपाली धावकले जितेका छन् । नेपाल, चीन, पाकिस्तान र श्रीलङ्काका धावकहरु म्याराथनमा सहभागी थिए ।

४. जुम्लाको चन्दननाथ नगरपालिका–१० स्थित बोहोरा गाउँमा रु १२ करोडको लागतमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने भएको छ । कर्णाली प्रदेश अन्तर्गतको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आव्हान भएपछि अस्पताल निर्माणको काम अगाडि बढेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताए ।

५. नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन नसकिएको बताए । परिवर्तन नेपाल अभियानले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले २०७३ सालमा तयार पारिएको स्वास्थ्य बीमा कार्यक्रमको अवधारणा आम नागरिक र सरकारलाई बुझाउन नसकिएको बताएका हुन् ।

६. उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक क्षेत्रको विकासबिना मुलुकले गति प्राप्त गर्न नसक्ने बताएका छन् । वीरगञ्जमा ‘उद्योग र व्यापार खोइ पूर्वाधार’ भन्ने सत्रमा मन्त्री भण्डारीले वीरगञ्जको औद्योगिक क्षेत्रका रुपमा अपेक्षाकृत ढङ्गले विकास हुन नसकेको बताएका हुन् ।

७. नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक रहेको बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा पार्टीको क्षेत्रीय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै उनले सबैलाई आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न आह्वान गरे ।

८. कर्णालीमा सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भागबण्डामा कुरा नमिल्दा नयाँ सरकार निर्माणमा ढिलाइ भएको छ ।
माओवादी संसदीय दलका नेता राजकुमार शर्माले बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि बिहीबार एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी गरेका थिए ।

Exit mobile version