नौ लाख प्रतिष्ठान, १९ हजार मात्रै सूचिकृत

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको ‘राष्ट्रिय आर्थिक गणना २०७५’ को नतिजा अनुसार, नेपालमा ९ लाख २३ हजारभन्दा बढी औद्योगिक प्रतिष्ठान सञ्चालनमा छन् । तर, सामाजिक सुरक्षा कोषमा भने १९ हजार पनि रोजगारदाता पनि सहभागी भएको पाइँदैन । सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार, हालसम्म १८ हजार ८ सय २३ रोजगार मात्रै सूचिकृत भएका छन् ।

सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई सो बमोजिम २०६७ साल चैत्र ७ गते भएको हो । कोषले स्थापनाकाल देखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐन बमोजिम कार्य गर्दै आएको छ ।

सामाजिक सुरक्षा कोष श्रमिकको हितमा ठूलै अपेक्षित सहित सुरु भएपनि त्यसमा अपेक्षित रूपमा रोजगारदाता र श्रमिक भने सूचिकृत हुन नसकेको तथ्यांकले देखाउँछ । श्रमिक क्षेत्रका अगुवा सामाजिक सुरक्षा कोषमा सहभागिता बाध्यकारी नहुँदा अपेक्षित रूपमा रोजगारदाता सहभागी नभएका हुन् । ‘श्रमिक र रोजगारदाता दुवैलाई यसले लाभ पुर्याउँछ’, श्रमिक अगुवा भन्छन् ।

सानादेखि ठूला रोजगार दातालाई सामाजिक सुरक्षा कोषमा समेट्ने उद्देश्य भएपनि ठूला व्यवसायिक प्रतिष्ठान मात्रै सामाजिक सुरक्षा कोषमा सूचिकृत भएको पाइन्छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ मंसिर ११ गतेदेखि सामाजिक सुरक्षा योजना लागु गरेको हो । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा २०७६ साल साउन १ गतेदेखि रकम संकलन हुन थालेको थियो ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा हालसम्म पाँच लाखभन्दा बढी श्रमिक आबद्ध भइसकेको र तीन लाख श्रमिकले निरन्तर कोषमा योगदान गरिरहेको बताएका छन् ।

सामाजिक सुरक्षा कोषका उपनिर्देशक दिनेशकुमार कोइरालाले अन्य क्षेत्रको भन्दा पर्यटन क्षेत्रको आबद्धता सामाजिक सुरक्षा कोषमा कमी भएको बताउँछन् । ‘सामाजिक सुरक्षा कोषमा पर्यटन क्षेत्रको एक सय ६५ कम्पनीका झन्डै ६ सय श्रमिकमात्र आबद्ध रहेका छन्, यो पर्यटन क्षेत्रका लागि न्यून हो’, उनले भने ।

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत रु आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ । कोषले गत बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई रु आठ अर्ब ४८ करोड भुक्तानी गरेको हो । कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत रु सात अर्ब २५ करोड ३३ लाख एक हजार तीन सय १८ भुक्तानी गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत रु ९८ करोड ४३ लाख ७६ हजार तीन सय २२, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा रु ११ करोड ४७ लाख १९ हजार पाँच सय ४५ र आश्रित परिवार सुरक्षा योजनामा रु १३ करोड २८ लाख एक सय ६५ भुक्तानी गरेको छ ।

कोषबाट एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत सुविधा लिएका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । कोषले योगदानकर्तालाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाबापत विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ ।

कोषमा शुक्रबारसम्म ५२ अर्ब ६६ करोड बढी योगदान रकम जम्मा भएको छ । कोषमा औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार गरी कुल १२ लाख ५९ हजार ४ सय ८३ श्रमिक सूचीकृत भएका छन् । सूचीकृत हुनेमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको संख्या बढी छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयलाई अनिवार्य गरेको छ ।
बिहीबारसम्म औपचारिक क्षेत्रका चार लाख ९१ हजार दुई सय २३, वैदेशिक क्षेत्रका सात लाख ६६ हजार दुई सय ४३, अनौपचारिक क्षेत्रका दुई सय ५१ र स्वरोजगार क्षेत्रका ८२ जना सूचीकृत भएका कोषले जनाएको छ ।

Exit mobile version