देशमा आजः ८ बजे ८ खबर

१. पर्साका छुट्टाछुटै स्थानमा मंगलबार बिहान आगलागी हुँदा करिब रु १२ लाख बराबरको क्षति भएको छ । धोबिनी गाउँपालिका– ३ गुलरियामा आगलागी हुँदा करिब रु नौ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

२. राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्नेक्रममा मंगलबार काठमाडौँमा प्रदर्शन गरेको छ । त्यसक्रममा सहरका विभिन्न क्षेत्रबाट आएको जुलुस निषेधित क्षेत्र उल्लङ्घन गर्ने प्रयास गरेपछि सिंहदरबार अगाडि भद्रकाली सडकमा प्रहरीसँग झडपसमेत भएको थियो ।

३. राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवद्र्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड दिएका छन् । मंगलबारदेखि सुरु भएको १२ वर्षे कुम्भमेलाको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले निमुखा जनताको निर्बाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसात् गर्न आग्रह पनि गरे ।

४. सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ । मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको साविक भेरी अञ्चल बबइका भएको बेतालघाट पुलिस थानाले जनाएको छ ।

५. आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने यहाँको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा मंगलबारदेखि भक्तपुरमा सुरु भएको छ । जात्राको पहिलो दिन तौमढीस्थित भैरवको रथमा पूजा गर्ने स्थानीयको बिहानदेखि भीड लागेको छ ।

६. कैलालीको मध्यक्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका–१० थेबर गाउँमा मंगलबार दिदीबहिनी मृत फेला परेका छन् । स्थानीय कलेसु चौधरीका २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घरको सुत्ने कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टले बताए ।

७. गत वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा एक सय दुईजनाको मृत्यु भएको छ । देशका विभिन्न क्षेत्रमा यो अवधिमा तीन हजार सात सय ९५ भन्दा बढी आगलागीका घटना भएकामा ती घटनामा एक सय दुईजनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

८. उपनिर्वाचन हुने इलाम २ र बझाङ १ मा केही दिन विद्यालय बन्द हुने भएको छ । निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदान स्थल तथा केन्द्र विद्यालयलाई बनाउने निर्णय गरेपछि ३ दिन विद्यालय बन्द हुने भएको हो ।

Exit mobile version