आज ईद उल फित्र

आज बिहीबार ईद उल फित्र । अर्थात् ईद । इस्लामिक धर्माबलम्बीहरूको महान् पर्व । एक महिनासम्म रोजा (उपवास) बसेका ईदुलफित्र रोजेदार अर्थात् ती व्यक्ति जसले रमजान करीमको एक महिना रोजा बसे तिनीहरूका लागि अल्लाहको तर्फबाट दिइएको ठुलो उपहारको दिन, ईद । यो दिनलाई उत्सवको रूपमा मनाउन मुस्लिम समुदायले वर्षभरि पर्खिएका हुन्छन् ।

आज ईदको अवसरमा सुर्याेदयको केही बेरमै ईदको नमाज (प्रार्थना) गरिनेछ । जामा मस्जिद तथा इदगाह सञ्चालक समितिका महासचिव इर्फान सिद्धिकीले ईदगाहमा नमाजका लागि सबै तयारी पूरा भएको बताए । उनले आज बिहीबार बिहान आठ बजे इदको सामूहिक नमाज हुने जानकारी दिएका छन् ।

मंगलबार बेलुकी निकै बेरसम्म इदको चन्द्रमा आकाशमा खोजिए पनि नदेखिएकोले बुधबार अन्तिम रोजा राख्ने र बिहीबार इदुल फित्र मनाउने घोषणा गरेको थियो ।

बुधबार रमजानको अन्तिम दिन भएकोले बजारमा बिहानैदेखि इदको खरिदारी गर्नेको भीड थियो ।

सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र(ईद)को अवसरमा आज बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।

सरकारले हरेक वर्षको ईद–उल फित्र(ईद)का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात दिनभरि उपवासमा बसेर पर्व सुरु हुन्छ । इदुल फित्र मुस्लिम समुदायको सबभन्दा ठुलो र महान पर्वको रूपमा रहेको छ । एक महिना सम्म गर्मी, भोक, तिर्खा, सहनु दिनको पाँच पटक नमाज पढनु, नराम्रा काम बाट बच्नु, झुटो नबोल्नु, नराम्रो बस्तुहरू नहेर्नु, त्यस्तो ब्यक्तिले इदको दिन अल्लाहबाट उपहार पाउनुको मतलब उसले गरेको गल्तीलाई अल्लाहले माफ गरिदिन्छ भन्ने बिश्वास राखेका हुन्छन् । रोजा हरेक बालक, बालिका, महिला, पुरुषहरू माथि अनिवार्य रूपमा अनिवार्य रहेको छ । यदि कुनै ब्यक्ति एकदमै बिमारी भई ब्रत अथवा रोजा बस्नै नसक्ने अवस्थामा छ भने उसले एक महिनासम्म एक गरिव ब्यक्तिलाई खाना खुवाउनु पर्छ । बरु उसले खानाको सट्टामा पैसा पनि दिन हुन्छ ।

Exit mobile version