लन्डन म्याराथन जाने गाेपीलाई केएल दुगड ग्रुपकाे एकलाख

लन्डन म्याराथनमा भाग लिने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीलाई केएल दुगडले १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । 

गापीको विदाईमा बिहीबार नेपाल ओलम्पिक कमिटी (एनओसी) मा राखिएको विदाईमा केएल दुगडका प्रबन्ध निर्देशक कुमुद दुगडले उनको तयारीका लागि १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । 

प्रबन्ध निर्देशक दुगड, एनओसीका जीवनराम श्रेष्ठ, नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्ट, लि निङको आधिकारित विक्रेता चाइना ट्रेड लिंक प्रा.लिका कार्यकारी अध्यक्ष राजन महर्जनले गोपीलाई विदाई गरेका थिए । शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने गोपीले वैशाख ९ गते आयोजना हुने लण्डन म्याराथनमा भाग लिनेछन् । नवौं धारा नेपालगन्ज म्याराथनका विजेताका बनेर गोपी लण्डन ओलम्पिकका लागि छनोट भएका थिए । नेपालगन्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा गोपीको लण्डन ओलम्पिकको यात्रा पक्का गरेको हो । 

एनओसी अध्यक्ष श्रेष्ठले गोपीलाई सफलताको शुभकामना दिए । नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक केएल दुगडका प्रबन्ध निर्देशक दुगडले गोपीलाई सफलताको शुभकामना दिदै आफ्ना उत्पादन खाद्य सामाग्री प्रदान गरेका थिए । 

विश्वमा शीर्षस्थानका ६ म्याराथन मध्येको एक लण्डन म्याराथनमा गोपी पहिलो पटक भाग लिन लागेका हुन् । यसअघि उनले बर्लिन म्याराथनमा पनि उनले भाग लिइसकेका छन् । 

गोपीले आफ्नो लक्ष्य भनेको भविष्यमा ओलम्पिक खेल्ने रहेको दोहोराएका छन् । उनले लण्डन ओलम्पिकका लागि पछिल्लो ६ महिनादेखि तयारी गरिरहेको र उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताएका छन् । 

सो अवसरमा लि निङले गोपीलाई ट्रयाकसुट, ज्याकेट, टिसर्ट प्रदान गरेको थियो । सो अवसरमा गोपीका प्रशिक्षक सन्तोष श्रेष्ठलाई पनि टिसर्ट दिइएको थियो । 

Exit mobile version