बुद्ध मन्दिरको पारदर्शीता खोजी

बागेश्वरी मन्दिर परिसर भित्र रहेका हर्ष किर्ति महाबिहार (बौद्ध मन्दिर) को बिषयमा अधिकारकर्मी तथा नागरिक समाजका व्यक्तिहरूले चासो राखेका छन् । महाविहारका सम्बन्धमा विभिन्न खालका गुनासो सुनिएपछि बिहीबार स्थलगत रूपमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी दिएको अधिकारकर्मी बसन्त गौतमले जानकारी दिएका छन् ।

बौद्ध मन्दिरमा ब्यवस्थापनमा समस्या देखिएको, मन्दिरमा ब्यवस्थापन समितिले नभई ब्यक्तिबाट संचालन भएको, भेटी र ब्यवसायिक सटरबाट उठेका रकमको पारदर्शिता नभएको गुनासो आएको कानुन व्यवसायी समेत रहेका गौतमले बताए । मन्दिर परिसर फोहर, दुर्गन्धित भएको, भिक्षुहरूको आत्मसम्मानमा ठेस पुग्ने कार्यहरू भएको भनी गुनासो आएपछि सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत कानून ब्यवसायी, नागरिक अगुवाबाट स्थलगत अनुगमन गरिएको हो ।

अधिकारकर्मीहरूले मन्दिरको व्यवस्थापनमा चासो राख्दै सार्वजनिक सम्पत्तिको संरक्षण र सम्बद्र्धन गर्ने जिम्मेवारी र दायित्व रहेको स्थानीय निकाय र स्थानीय प्रशासन लगायत सम्बद्ध पक्षको प्रभावकारी भूमिको अपेक्षा राखेको बताएका छन् ।

अधिकारकर्मीहरूले अनुगमन पछि तत्कालिन राजा महेन्द्र बाट २०१७ साल स्थापना गराई प्राण प्रतिष्ठा गराई पछि हाल मन्दिर रहेको जग्गा कति र कसको नाममा रहेको छ ?, मन्दिरको ब्यवस्थापन र संचालन कसले कसरी भैराखेको छ ? मन्दिर ब्यवस्थापन समिति छ वा छैन ?, मन्दिरमा चढाईने भेटी कसको जिम्मामा हुन्छ । यसको हिसाव किताव हुन्छ कि हुदैन ? भन्ने लगायतका विषयमा स्थानीय निकाय र प्रशासनको ध्यान जान आवश्यक रहेको बताएका छन् ।

‘मन्दिर अगाडि मन्दिरको स्वरूप नै ढाकिने गरि खोलिएका ब्यवसायिक पसलहरू कसको अनुमतिले पसल राखिएका छन् ? पसलबाट उठेको भाडा कसले बुझ्दछ ? बौद्ध मन्दिरनै ढाकिने गरि पसलहरू राख्न दिनाको कारण के हो ?’, अधिकारकर्मीले प्रश्न उठाएका छन्, ‘मन्दिरका चढाइने भेटी र मन्दिर अगाडी ब्यवसायिक सटरबाट लाखौं रूपैयाँ उठ्ने भए पनि फोहर अस्तब्यस्त, दुगन्धित मन्दिर किन राखिएको होला ?’

Exit mobile version