समयमै पाठ्यपुस्तक

यस बर्ष नयाँ शैक्षिक सत्रको पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा पर्ने भएको छ । समयमै पुस्तक छपाई गरी सम्बन्धित जिल्लामा वितरणको जिम्मा लिएकाहरूको हातमा पुस्तक पुगेपछि विद्यालयले समयमै पुस्तक पाउने भएका हुन् ।

बाँकेका सरकारी पुस्तक वितरणका लागि तीन वटा डिपो रहेका छन् । खजुरा, कोहलपुर र नेपालगन्जमा पुस्तक वितरणका लागि डिपो रहेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेका सचिव मोहन चन्दले जानकारी दिए ।

विगतका बर्षहरूमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म सम्म पनि सबै पुस्तक वितरकले नपाउँदा विद्यार्थीको हातसम्म पुग्दैनथ्यो । ‘यो पटक पुस्तकको सेट नै पाएका छौं’, सचिव चन्दले भने । बाँकेका सरकारी पुस्तक व्यवस्थापनका लागि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघकै पहलमा डिपो स्थापना गरिएको थियो । ‘शैक्षिक सत्रसँगै विद्यार्थीको हातमा पुस्तक पुग्छ’, सचिव चन्दले भने ।

त्यस्तै, नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको जानकारी दिएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पु¥याइएको बताएका छन् ।

केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन् । केन्द्रले चालु शैक्षिकसत्रमा पनि समयमा नै किताब पु¥याएको
थियो ।

प्रबन्ध सञ्चालक झाका अनुसार आउँदो शैक्षिकसत्रका लागि जिम्मेवारी दिइएको कक्षा ५ देखि १२ सम्मका एक करोड ७५ लाख थान किताब छापेर फागुनदेखि नै बिक्री सुरु गरेको थियो । केन्द्रले २४ सैँ घण्टा पुस्तक छापेको थियो । “हामीले भरमग्दुर प्रयास गरेर समयमा जिल्ला जिल्लामा पाठ्यपुस्तक पु¥याउने जिम्मेवारी पूरा गरेका छौँ । अब बिक्रेतामार्फत विद्यार्थीका हातहातमा पुस्तक पुग्नेछन्”, उत्साहित हुँदै प्रबन्ध सञ्चालक झाले भने, “राज्यको भर्ना अभियान आरम्भ हुँदा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेनन् भन्ने गुनासो सम्भवतः अब सुन्नुपर्दैन । कुनै कारणवश कहीँ नपुगेको जानकारीमा आए तत्काल सम्बन्धित प्रदेश कार्यालयबाट आवश्यक व्यवस्था गरिनेछ ।”

कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत (अनुमतिप्राप्त) प्रकाशनका पाठ्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ ।

केन्द्रले आगामी शैक्षिकसत्रका लागि कक्षा ३ देखि १२ सम्मका पाठ्यपुस्तकको मूल्यसूची र हरेक प्रदेशका लागि सूचीकृत बिक्रेताको मूल्यसूची पनि सार्वजनिक गरेको छ ।

Exit mobile version