‘सुरक्षामा ढुक्क हुनुस्’

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जिल्लाको सुरक्षा व्यवस्था अपेक्षित ढंगले सुधार गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

नयाँ बर्षको सन्दर्भमा आयोजित शुक्रबार एउटा कार्यक्रममा बाँके प्रहरी प्रमुख कार्कीले भने, ‘तपाईहरूले चाहेजस्तो नहोला, तर ढुक्क हुनुस्, बाँकेको सुरक्षा व्यवस्था सुदृढ हुँदै जान्छ ।’ त्यसका लागि आफुले काम सुरु गरिसकेको प्रष्ट सन्देश दिंदै प्रहरी उपरीक्षक कार्कीले संकटकालमा नेपालगन्जमा बसेर काम गरेको अनुभव समेत सुनाए ।

‘प्रहरी पनि यही समाजकै अंग हो’, कार्कीले आम जनतालाई समेत सचेत हुन आग्रह गर्दै भने, ‘तपाईले असल काम गर्नुहुन्छ भने ढुक्क हुनुस् प्रहरीसँग डराउनु पर्दैन ।’ होटल व्यवसायी संघ बाँके नेपालगन्जले नयाँ सालको पात्रो विमोचन सँगै शुभकामना आदानप्रदान कार्यक्रममा प्रहरी प्रमुखका रूपमा जिल्लाको जिम्मेवारी सम्हालेका कार्कीलाई स्वागत सम्मान समेत गर्यो ।

संघका अध्यक्ष रंग बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवसायी महासंघ लुम्बिनीका अध्यक्ष भाष्कर काफ्ले, केन्द्रीय सदस्य भीमलाल कंडेल, हान बाँकेका वरिष्ठ उपाध्यक्ष केशव न्यौपाने, प्रजातान्त्रिक व्यवसायी संघका उपाध्यक्ष धु्रव दाहाल, नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेका सचिव विष्णु खनाल, अधिकारकर्मी बसन्त गौतम लगायतले समसामयिक सुरक्षा व्यवस्था र व्यवसायीहरूको अवस्थाबारे आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए ।

‘आर्थिक जर्जरताले थलिएको व्यवसायमा राज्यले मल्हम लगाउने गरी काम गरिदेओस् भन्ने व्यवसायीहरूका चाहना हो’, संघका अध्यक्ष खड्काले कम्तिमा सुरक्षा व्यवस्थाको सुनिश्चितताले पनि सहयोग पुग्ने धारणा राख्दै भने ।

Exit mobile version