खालसा साजना दिवस मनाउँदै बाँकेका शिख समुदाय

विक्रम सम्बतको नयाँ वर्षसँगै बाँकेका शिख समुदायले खालसा साजना दिवस तथा वैशाखी पर्व हर्षोल्लासका साथ मनाएका छन् । त्यसका लागि नेपालगन्जस्थित गुरुद्वारा सजाइएको छ ।

श्री गुरुनानक सिंह सभा गुरुद्वारा नेपालगन्जका अध्यक्ष राजेन्द्र सिंह सरदारले शिख समुदायको धर्म उत्पत्ति भएको दिनका रुपमा यो दिवस मनाउन थालिएको बताए । उनका अनुसार, दिवसका अवसरमा गुरुद्वारामा अखण्ड पाठको आयोजना र पहिलो दिन शनिवार भण्डाराको व्यवस्थापन गरिएको छ ।

देशमै बाँकेमा सबैभन्दा धेरै शिख समुदायको बसोबास छ । नेपालभर करिब २५ हजार शिख समुदायको जनसंख्या छ । त्यसमध्ये बाँकेको डुडुवा गाउँपालिका–६ सिख्खनपुर्वा, नेपालगन्ज–१५ जमुनाह, नेपालगञ्ज–१९ वसुदेवपुर र जानकी–२ बेलभारको बनकटवामा गरी करिव सात हजारको संख्यामा छन् राससले समाचार बनाएको छ ।

शनिवारदेखि सुरु भएको खालसा साजना दिवस तथा वैशाखी पर्व तीन दिनसम्म मनाइने श्री गुरुनानक सिंह सभा गुरुद्वाराका कोषाध्यक्ष जोगेन्द्र सिंहले बताए । उनका अनुसार, गुरुद्वारामा विगत ४० वर्षदेखि प्रत्येक बैशाख १ गते गरिब तथा दीनदुःखीका लागि भण्डारा चल्दै आएको छ ।

श्री गुरुनानक सिंह सभा गुरुद्वारा नेपालगन्जका कार्यसेवक मायासिंह शिखले खाल्साले सबै शिखलाई पाँच निसानी दिएको बताए । शिख समुदायले हातमा लगाएको कडा, टाउकोमा पगरीभित्र कङ्गी, कम्मरमा सानो चक्कु, एउटा भित्री वस्त्र र दाह्री कहिल्यै नकाट्ने खाल्साको पाँच निसानी रहेको भनाइ छ ।

नयाँ वर्ष २०८१ तथा सिख समुदायको खालसा साजना दिवसका अवसरमा नेपालगन्जस्थित विशेष कार्यक्रममा लुम्बिनी प्रदेशका विनाविभागियमन्त्री भण्डारीलाल यादव, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, सुरक्षा निकायका प्रमुख र सिख समुदायका अगुवाहरुको सहभागिता थियो ।

Exit mobile version