बाँकेको ‘संवाद यात्रा’मा काँग्रेस महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा शनिबार नयाँ बर्ष २०८१ को प्रारम्भका दिन दिनभर बाँकेमा ब्यस्त भएका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित संवाद यात्राका क्रममा रहेका महामन्त्री थापा शनिवार जिल्लाका तीन ठाउँमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा सहभागी भए ।

डुडुवाको मिलनचोक र नेपालगञ्जको त्रिभुवनचोकमा जनतासंग संवाद गरेका थापाले साँझ पार्टी कार्यालयमा नेपाल प्रेस युनियन बाँकेले प्रकाशन गरेको भित्तेपात्रो विमोचन र कार्यकर्ता भेटघाट गरे । संवाद यात्राका क्रममा महामन्त्री थापाले दिउँसो डुडुवा गाउँपालिका वडा नम्बर ५ कम्दीस्थित मिलनचोकमा आयोजित कार्यक्रममा जनताका कुरा सुने अनि आफ्ना कुरा राखे । त्यहाँ मगन्ता समुदायले पनि महामन्त्री थापासमक्ष आफ्ना समस्या दर्शाएका थिए ।

त्यसक्रममा बोल्दै थापाले यात्राका क्रममा आफूले देखेका समस्या राजधानी पुगेर सरकार र शीर्ष नेतृत्वसमक्ष राख्ने र समाधानको पहल गर्ने बताए ।

हुलाकी राजमार्गको अवस्था बुझ्न, जनतासंग संवाद गर्न र आवश्यक पहलका लागि सरकारको ध्यानाकर्षण गराउन आफू संवाद यात्रामा निस्केको बताउँदै उनले झापादेखि बाँकेसम्मको अवस्था अवलोकन गर्दा अझै कैयौं अवरोध र कामहरु बाँकी नै रहेको आफूले पाएको बताउँदै काठमाण्डौ पुगेर संसदमा कुरा उठाउने, प्रधानमन्त्री लगायत विभागीय मन्त्रीसंग यसबारेमा कुरा गर्ने बताए ।

हुलाकी राजमार्ग तराईको लाइफलाइन भएको भन्दै महामन्त्री थापाले यसको निर्माण कार्यलाई चाँडै सम्पन्न गर्न दृढ इच्छाशक्ति र काम गर्ने तौरतरिका बदल्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय गौरबको सिक्टा सिंचाई आयोजना बाँकेबासीका लागि बरदान साबित हुने आयोजना भएपनि निर्माण कार्यमा भइरहेको ढिलाईले लागतको अनुपात बढाइरहेको भन्दै पर्याप्त बजेटको व्यवस्था र मुआब्जा समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराइने बताए । काम गर्ने मोडेलमै त्रृटी भइरहेको भन्दै उहाँले यशासमयमा सक्न राष्ट्रिय गौरवको आयोजना प्रमुख प्राथमिकतामा पर्नुपर्ने बताए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेका सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्यहरु मधु आचार्य, प्रतिमा गौतम, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी लगायतको उपस्थिति थियो ।

यता त्रिभुवन चोकमा आयोजित कार्यक्रममा बादी समुदाय, अपांगता भएका समुदाय लगायतले थापासमक्ष आफ्ना कुरा राखेका थिए । त्यसक्रममा थापाले मुलुक बनाउन साझा सोच र दृष्टिकोणका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै अनुत्पादक क्षेत्रमा भइरहेको लगानी बन्द गर्नुपर्ने बताए । मुलुक बाहिर गएर युवाहरुले कमाई गरेर पठाएको पैसा कृषिमा लगानी गर्न सके मात्र मुलुक बन्ने जिकिर गर्दै उनले अनुत्पादक क्षेत्रमा भइरहेको लगानीलाई निरुत्साहित गर्नुपर्ने बताए । गठबन्धनरुपी फोहोरबाट बाहिर निस्केको कांग्रेसले अब आफूलाई सुदृढ बनाएर लैजानुपर्ने बताए ।

Exit mobile version