देशमा आजः ८ बजे ८ खबर

१. गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अदालतले तोकेको पेसी अगाडि नै विश्वासको मत लिने तयारी गरेका छन् ।
गण्डकी प्रदेश सरकार गठन विरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट उपर वैशाख १० गते पेसी तोकिएको छ ।

२. नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपरिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) का कारण अधिकांश न्यायाधीश चिन्तामा परेको बताएका छन् । बारमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त नियमावली संशोधनपछि ९० प्रतिशत न्यायाधीश चिन्तामा परेको भन्दै बार चुप लागेर बस्ने अवस्था नभएको उल्लेख गरे ।

३. नेपाल एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा हङकङलाई हराउदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

४. लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य सुरु भएको छ । प्रदेशको गौरवको आयोजनाअन्तर्गत १२ तले अत्याधुनिक अस्पताल भवन निर्माणको काम सुरु भएको हो । नयाँ भवन निर्माणका लागि पुराना संरचना हटाउने काम थालिएको छ ।

५. काठमाडौँ उपत्यको वायु अझै अस्वस्थ रहेको पाइएको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार सोमबार काठमाडौँ उपत्यकाको वायुप्रदूषण एक सय ५२ एक्यूआइ मापन गरिएको छ ।

६. राष्ट्रपति रामचन्द्र पौडेलले झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधक रहेको बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा निर्माण भएको गाउँपालिकाको प्रशासनिक भवनको सोमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले झण्झटिलो प्रशासनिक सेवालाई सहज र सरल बनाउँदै भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिए ।

७. निर्वाचन आयोगले सोमबार देखि उपनिर्वाचन हुने इलाम र बझाङ बाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ । आयोगले उपनिर्वाचन प्रयोजनका लागि गत फागुन १४ गतेदेखि मतदाता नामावली दर्ता कार्य स्थगित गरेको थियो ।

८. प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धिका लागि विद्यमान कानुन र सामाजिक वातावरणमा सुधार आउनुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा निर्वाचन आयोग र ‘युएन वुमन’द्वारा काठमाडौंमा आयोजित अन्तरक्रियामा प्रमुख आयुक्त थपलियाले कानुनले बाध्यकारी मानेका पदमा मात्रै महिलाको उम्मेदवारी दिने र समग्रतामा राजनीतिमा महिलाको उत्साहजनक सहभागिता नगराउने स्थिति रहेकाप्रति चिन्ता व्यक्त गरेका हुन् ।

Exit mobile version