देशमा आजः ८ बजे ८ खबर

१. बागमती प्रदेश युवा परिषद्ले तीन दिने युवा सम्मेलन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले आगामी वैशाख २८, २९ र ३० गते युवा सम्मेलन आयोजना गर्न लागेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए ।

२. सर्लाहीमा आठ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । सोमबार स्वास्थ्य कार्यालय सर्लाहीमा आयोजित हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानको जिल्लास्तरीय अन्तरक्रियामा उक्त जानकारी दिइयो ।

३. रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १६ वटा सामुदायिक विद्यालयलाई समायोजन गरेको छ । गाउँ कार्यपालिकाको बैठकले विद्यार्थी संख्या न्यून भएका १६ वटा विद्यालय समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा बिस्तार निर्णय गरेको हो ।

४. २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत सोमबार चितवनमा चरा अवलोकन गरिएको छ । सामुदायिक वनमा चराको अवस्था पत्ता लगाउन सौराहाको जनकौली मध्यवर्ती सामुदायिक वनमा चरा अवलोकन गरिएको हो ।

५. संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए ।

६. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुमाथि ठूलीभेरी नगरपालिका–३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट प्राप्त भएको रकम अनियमितता गरेको पाइएको छ ।

७. कर्णालीमा ‘बाली र पशुपन्छी विशेष कार्यक्रम’ सुरु भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आवमा रु १० करोड बजेट विनियनेजन भएसँगै विशेष उत्पादन क्षेत्र तोकेर प्रदेशका दशवटा जिल्लामा कार्यक्रम सञ्चालन हुने भएको हो ।

८. नेपाल राष्ट्र बैंकको सर्भरमा ६ महिनाको अवधिमा एकै व्यक्तिले १५ हजार पटक साइबर आक्रमण गरेको पाइएको छ । राष्ट्र बैंकको बेवसाइट र वेब एप्लिकेशनहरूमा साइबर आक्रमण भएको भन्दै उजुरी परेपछि केन्द्रीय साइबर ब्यूरोले गरेको अनुसन्धानका क्रममा १५ हजार पटकसम्म आक्रमण भएको खुलेको हो ।

Exit mobile version