देशमा आजः ८ बजे ८ खबर

१. एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता दीर्घबहादुर सोडारीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले दल नेता सोडारीको नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

२. हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको संख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८÷७९ देखि २०८०÷८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ ।

३. काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ । लामालाई काठमाडौँबाट बुधबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

४. दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महारिक्षक कुवेर कडायतले बताए ।

५. नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको हो ।

६. जल तथा मौसम विज्ञान विभागले अब एक सातसम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ । एक सातासम्मको मौसमी अवस्था जानकारी दिँदा मौसमजन्य विपतका घटना न्यूनीकरणमा सहयोग पुग्ने विभागको भनाइ छ । एक सातासम्मको मौसम पूर्वानुमान हुँदा किसानहरुलाई बाली लगाउन र भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ ।

७. विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा हिमाल अभियान–२०२४ को टोली बुधबार नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको हो ।

८. गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते गण्डकी प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् । शुक्रबार ३ बजेदेखि बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् ।

Exit mobile version