नेपालगन्ज : पूँजीगत खर्च १३ प्रतिशत मात्रै

नेपालगन्ज उपमहानगर–पालिकाको नगरसभाको १४औं अधिवेशन शनिबार आयोजना गरिएको छ । नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेको नगरसभामा उपमहानगरपालिकाको अर्धबार्षिक समीक्षा गरिएको थियो ।
उपमहानगर– पालिकाले गरेका विभिन्न कार्य विवरण सार्वजनिक गरिएको अर्धबार्षिक समीक्षामा प्रस्तुत तथ्यांक अनुसार उपमहानगरपालिकाको पूँजीगत खर्च भने निराशाजनक देखिएको छ । राजश्व संकलन उत्साहजनक देखिएपछि पूँजीगत खर्च भने निकै कम रहेको छ । अधिवेशनमा प्रस्तुत प्रगति विवरणमा आन्तरिक राजश्वतर्फ १९ करोड अनुमानित आय रहेकोमा हालसम्म १० करोड २७ लाख ४१ हजार रूपैयाँ संकलन भएको जनाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाले चालू आर्थिक बर्षमा चालूतर्फ ३२.७ प्रतिशत, पूँजीगततर्फ १३.४२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४३.८१ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ ।
भुक्तानी प्रक्रियालाई सहज र पारदर्शी बनाउने उद्देश्य अनुरूप इएफटीमार्फत सम्बन्धित खातामा नै भुक्तानी गर्ने व्यवस्था, घरदेखि अस्पतालसम्म २४ घण्टे निःशुल्क सञ्चालित एम्बुलेन्स सेवामार्फत हालसम्म २५० जना लाभान्वित, स्थानीय पाठ्यपुस्तक निर्माण र कार्यान्वयन, सूचना प्रविधिमैत्री शिक्षण सिकाई, बालविवाहमुक्त उपमहानगरपालिका दिगोपनाका लागि निरन्तर अभियान सञ्चालन, सहकारी अनुगमन, बजार अनुगमन, इएफटीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण, नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बागेश्वरी मन्दिर परिसरमा साप्ताहिकरूपमा सन्ध्याकालीन महाआरती सञ्चालन गरिएको प्रगति विवरणमा उल्लेख छ ।
प्रगति विवरणमा सहरका मुख्य सडकको निरन्तर सरसफाई, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन प्रभावकारीरूपमा सञ्चालन, वडा नम्बर ३ र ७ मा समुदायस्तरमा आगलागी, भूकम्प लगायत विपदका विभिन्न स्वरूपसम्बन्धि पूर्व घटना अभ्यास, कमजोर भौतिक संरचनाको प्रबलीकरण, आपतकालीन कार्यसञ्चालन निर्देशिका २०८०, विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०, व्यवसायिक निरन्तरता योजना २०८०, विपद जोखिम बीमा सम्बन्धि कार्यविधि २०८० र नगर विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० निर्माण भई कार्यान्वयनमा रहेको जनाइएको छ । १०८ फिट अग्लो हनुमानको मूर्ती, बागेश्वरी मन्दिरमा जुंगे महादेवको मन्दिर तथा पुल स्तरोन्नति लगायतका कामहरू निर्माणको चरणमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
तरकारीको पकेट र च्याउ पकेटको निरन्तरता दिई ५० प्रतिशत अनुदानमा २५ मेट्रिक टन गहुँ कृषकहरूलाई उपलब्ध गराइएको, सडक सुरक्षा व्यवस्थापन अन्तर्गत छाडा पशुचौपायाका लागि राप्तीसोनारी गाउँपालिकासंग सम्झौता गरी काञ्जीहाउसमा पठाउने कार्यको सुरुवात भएको, फुटपाथ र इ–रिक्सा व्यवस्थापन कार्यको काम अगाडि बढेको, वाटरपार्कमा साइकल पथ ट्रयाक निर्माण कार्य सुरुवात गरिएको, डिजिटल घर नम्बर प्रणालीको काम सुरु भएको, मुख्य चोकहरूको शालिक मर्मत, रंगरोगन र चोक सरसफाईको काम गरिएको, मुख्य र भित्री नाला सफाई गरिएको, फोहोरमैला व्यवस्थापनका लागि सचेतना प्रबद्र्धन र जरिवाना अभियान थालिएको, नेपालगञ्ज नाकाको प्रवेशद्वार रंगरोगन, सौन्दर्यकरण तथा राष्ट्रिय झण्डा फहराइएको, डिजिटलाइजेशनलाई अभियानकै रूपमा अगाडि बढाइएको लगायतका प्रगति अधिवेशनमा प्रस्तुत गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत एवम् सभा सचिव ओमबहादुर खड्काले स्वागत गरेको अधिवेशनमा नगर उपप्रमुख कमरुद्दिन राईले प्रगति विवरण सभासमक्ष प्रस्तुत गरेका थिए । नगरसभाको उद्घाटनसत्रमा नगर सभा सदस्य एवम् प्रबक्ता प्रमोद रिजाल, नगरसभा सदस्यहरू राजकुमार साहु, दीपककुमार बर्मा, गोपाल पुन, कौशलकुमार धोबी र मनोजकुमार श्रेष्ठले बालेको थिए ।
नगर प्रमुख विष्टले नगरसभाको एजेण्डा प्रस्तुत गर्दै नेपालगन्ज उपमहानगरपालिकाको चालू आर्थिक बर्षको स्वीकृत योजना, कार्यक्रम र बजेटमा रकमान्तर स्वीकृति, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका चालू आर्थिक बर्षमा सञ्चालन हुने थप योजनाहरू स्वीकृति, फोहरमैला व्यवस्थापनका लागि सार्वजनिक, निजी साझेदारीमार्फत कार्यान्वयन सम्बन्धमा स्वीकृति र नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको नियमन सम्बन्धमा स्वीकृतिका लागि प्रस्ताब पेश गरेका थिए । प्रस्तावहरू सर्वसम्मतिले पारित भएका छन् ।
अधिवेशनको खुला छलफलमा नगरसभा सदस्यहरू बर्मा, नन्दकिशोर कश्यप, सराफत खाँ, चक्रबहादुर बुढा, दिग्विजय ढुंगाना, अरूणकुमार मिश्र र विनोदकुमार रस्तोगीले बोले । उद्घाटन सत्रको सञ्चालन बरिष्ठ अधिकृत खिमानन्द अर्यालले गरेका थिए । नगरसभामा २३ वटै वडाका वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, २३ वटै वडाका वडा सदस्य, नेपालगन्ज उपमहानगरपालिकाका सम्पूर्ण शाखा तथा महाशाखाका प्रमुख एवम् कर्मचारीहरू उपस्थित थिए ।

Exit mobile version