देशमा आजः ८ बजे ८ खबर

नेपालको दुईदिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार द्विपक्षीय वार्ता गर्दै। तस्बिरः प्रदीपराज वन्त / रासस

१. कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । त्यसक्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

२. हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ अभावमा उपकरण थन्किएका छन् । अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंका अनुसार मुटुरोगका लागि अस्पतालमा ल्याइएका उपकरण चिकित्सकको अभावका कारण प्रयोगमा आएका छैनन् ।

३. भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । विसं २०६३ कात्तिकमा भोजपुरका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० बर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले धरानबाट पक्राउ गरेको हो ।

४. धादिङको नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा सञ्चालित जिल्ला आयुर्वेद औषधालयलाई १६ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ ।

५. तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहासिक महत्वको ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार भएको छ । ऐतिहासिकस्थलको संरक्षण गरी पर्यटक भित्र्याउनका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको हो ।

६. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो ।

७. लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री जोख बहादुर महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय भने आफैसँग राखेका छन् ।

८. नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बुधबार विज्ञप्ति जारी गरी पार्टीको आगामी दशौँ महाधिवेशन सफल पार्न एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् ।

Exit mobile version