देशमा आजः ८ बजे ८ खबर

१. उपराष्ट्रपति रामसहायप्रसाद यादवले सर्ने रोगको तुलनामा नसर्ने रोगले धेरै मानिस मृत्युवरण गर्न बाध्य भएकोमा चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा शनिबार ‘नेपाल डाइबिटिज’ संस्थाले आयोजना गरेको ‘डाइबिटिज नेपाल अन्तर्राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्दै उनले मुटु रोग, क्यान्सर, उच्च रक्तचापको लहरमै आउने मधुमेहबाट मृत्यु हुनेको संख्या उच्च रहेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

२. राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको १७औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सूचनाको हकले नागरिकलाई सशक्त बनाउनुका साथै सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार बनाउने बताए ।

३. आसिफ शेख र अनिल साहले अर्धशतक बनाएपछि नेपालले ट्वान्टी २० क्रिकेट शृंखलाको पाँचौं तथा अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ ।

४. नेपाल पत्रकार महासंघले नयाँ कार्यसमिति चयनका लागि आगामी २६ जेठमा निर्वाचन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा भएको महासंघको २७ औं महाधिवेशनले २६ जेठमा निर्वाचन गर्ने निर्णय गर्दै त्यसको तयारीका लागि महासंघका समितिहरुलाई निर्देशन दिएको छ ।

४. सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ भएको राससलाई बताए ।

५. स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताए । बालबालिकालाई सुर्ती र धूमपानबाट टाढा राख्ने उद्देश्यले युवा सृजनशील समाजले शुक्रबारदेखि सुरु गरेको विद्यालयमा सचेतना अभियानमा उनले सुर्तीको धुवाँमा विश्वमा बर्सेनि रु ४७ अर्ब उडिरहेकाले यसलाई रोक्न पनि अभियान थाल्नुपर्ने बताए ।

६. आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि ‘राजस्व उठाउँ, देशलाई बुझाउँ’ अभियान सञ्चालन गर्दै आएको छ । उक्त पार्टीले राजस्वको दुरुपयोग तथा सीमा क्षेत्रका जनताले ल्याएका दैनिक उपभोग्य सामान जफत नगर्न भन्सार विभागदेखि प्रधानमन्त्री कार्यालयसम्मका कर्मचारीको ध्यानाकर्षण गराइरहेको छ ।

७. सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब रु १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ ।

८. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ ।मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन भएका तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने जनाइएको हो ।

Exit mobile version