देशमा आजः ८ बजे ८ खबर

१. उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ ।

२. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैङ्कभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताए ।

३. अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने स्पष्ट पारेका छन् । बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मंगलबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पुनले सरकार निजी क्षेत्रको अभिभावक पनि भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

४. लामो समयपछि सोमबारदेखि सुरु भएको वर्षासँगै देशका विभिन्न स्थानमा फैलिएको वन डढेलो नियन्त्रणमा सहज हुने आशा पलाएको छ । सुक्खा भएका कारण केही समयदेखि लागिरहेको वन डढेलो वर्षाका कारण नियन्त्रणमा आउनसक्ने सरोकारवालाहरुले विश्वास व्यक्त गरे ।

५. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले जुन उद्देश्यका लागि बिदा लिएको हो सोही उद्देश्यअनुसार त्यसको सदुपयोग गर्न आग्रह गरेका थिए ।

६. बाग्मती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना गर्न लागेको छ । समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले आगामी वैशाख २८, २९ र ३० गते आयोजना गर्न लागेको सम्मेलनको तयारी अन्तिम चरणमा रहेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाईंले जानकारी दिए ।

७. सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ ।

८. दैलेखको नयाँबजारमा रहेको ग्यारेजमा आगलागी हुँदा तीन वटा पसल जलेर नष्ट भएका छन् । वडा नम्बर १ स्थित साजनमोटर पार्ट्समा आगलागी हुँदा इलेक्ट्रोनिक्स पसल र कपडा पसलमा समेत सल्किएको थियो ।

Exit mobile version