२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

drug case prisoner with narcotic and syringe

लागुऔषध दुव्र्यसनको समस्या बढ्दो रहेको छ । युवा, विद्यार्थी, जागिरे तथा व्यापारमा संलग्न परिवारका व्यक्तिहरू लागुऔषधमा फस्दै गएका छन् । समग्रमा लागुऔषधबारे अध्ययन हुँदा भयावह तथ्यांक आउने गरेको छ ।

नर्कोटिक्स कन्ट्रोल ब्यूरोले काठमाडौंमा लागुऔषध दुव्र्यसनको सम्बन्धमा गरेको पछिल्लो अध्ययनले २४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुव्र्यसनमा रहेको तथ्यांक निकालेको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनले उक्त अध्ययनले ४२ प्रतिशत दूवर्यसनकर्ता २५–३५ बर्ष समूहका, ३१ प्रतिशत प्लस टु अध्ययनरत् विद्यार्थी, ३० प्रतिशत दुव्र्यसनकर्ताको परिवार जागिरे रहेका, २५ प्रतिशत दुव्र्यसनकर्ताहरूका परिवार व्यापार गर्ने, २१ प्रतिशत दुव्र्यसनकर्ताहरूको विभिन्न सरुवा रोगबाट पीडित भएको तथ्यांक रहेको बताए ।

प्रहरी नायब उपरीक्षक डाँगीले बाँके पनि लागुऔषध कारोबारको उच्च जोखिममा रहेको बताएका छन् । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागुऔषधको तस्करी हुनुका साथै नेपालगन्जबाट पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको उनले बताए ।

नेपालबाट भारततर्फ गाँजा, अफिमलगायत लागुऔषध तस्करी भएको र औषधि पसल तथा फार्मेसीबाट (चिकित्सकको प्रेप्किप्सनबिना) औषधि वितरणले लागुऔषधको जोखिम बढाएको प्रहरी नायब उपरीक्षक डाँगीको भनाइ थियो । बाँकेको ६९ किलोमिटर भारतसँग सीमासँग जोडिएको छ । प्रहरी नायब उपरीक्षक डाँगीले भने, ‘पछिल्लो समय नेपालगन्ज सहर लागुऔषध कारोबारको ‘ट्रान्जिट हब’ का रूपमा विकास हुँदै गएको छ ।’

सो अवसरमा सामाजिक विकासमन्त्री रत्न खत्रीले खुला सीमाबाट हुने लागुऔषधको कारोबार रोक्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरे । उनले लागुऔषधको कारोबार रोक्न विद्यालयस्तरमा सचेतना कार्यक्रम गरिने जानकारी दिए । कार्यक्रममा मन्त्रालयका उपसचिव दिवाकर भण्डारीलगायतले लागुऔषध कारोबार निरुत्साहित गर्न जरुरी भएको बताए ।

बाँकेमा आर्थिक वर्ष ०८०÷८१ को वैशाखसम्ममा एक सय ४६ लागुऔषधसँग सम्बन्धित मुद्दा दर्ता भएको छ । सो मुद्दा दर्ता हुँदा त्यस अवधिमा दुई सय १९ जना पक्राउ परेका छन् । उक्त आर्थिक वर्षमा आठ सय ६० दशमलव ४९६ ग्राम ब्राउन सुगर, १६ दशमलव १२३ ग्राम चरेस, नौ दशमलव ३१३ ग्राम अफिम, तीन दशमलव ३०० लिटर कोरेक्सलगायत लागुपर्दाथ प्रहरीले बरामद गरेको छ ।

आर्थिक वर्ष ०७९÷८० मा एक वर्षको अवधिमा एक सय ५७ मुद्दा दर्ता भएको छ । सो अवधिमा दुई सय ३६ जना पक्राउ परेका छन् । त्यस क्रममा आठ सय ८२ ग्राम ब्राउनसुगर र छ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।

जिल्लामा आर्थिक वर्ष ०७८÷७९ मा एक सय ३४ लागुऔषधसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएको छ । सो अवधिमा दुई सय १२ जना पक्राउ परेका छन् । आर्थिक वर्ष ०७७÷७८ मा एक सय २६ मुद्दा दर्ता भएको र एक सय ९६ जना पक्राउ परेको प्रहरीले जनाएको छ । दुवै आर्थिक वर्षमा ठूलो मात्रामा प्रहरीले लागुऔषध बरामद गरेको छ ।

बाँके प्रहरी प्रवक्ता डाँगी विभिन्न कारणले मानिस लागुऔषधमा फस्ने गरेको उल्लेख गर्दै ‘नो भन्न’ सिक्नुपर्ने बताए । उनले सामाजिक विकास मन्त्रालयले गत बुधबार आयोजना गरेको लागुऔषध अभिमूखिकरण सम्बन्धी कार्यक्रममा सबैको प्रयासले मात्रै लागुऔषध नियन्त्रण हुनसक्ने बताए । उनले लागुऔषधलाई ‘म यस्ता चिज खाँदै खान्न भनि दृढतापूर्वक इन्कार’ गर्नुपर्ने बताए ।

बाँके प्रहरी प्रवक्ता डाँगीले भने, ‘खाउँ भन्ने सुनेर आश्चर्य प्रकट गर्ने, दबाबलाई वेवास्ता गर्ने, कामतिर लाग्न सल्लाह दिने, कुराको विषयवस्तु नै बदल्ने लागुऔक्षधको दबाब प्रतिकार गर्ने तरिका हो ।’

‘सबै खान्छन् हामी पनि खाउँ, हानी नोक्सानी गर्दैन, खाउँ कसैले दैख्दैन, यदी त मेरो सच्चा साथी होस् भने एक सट भएपनि खाँ भनेर लागुऔषध सेवनका लागि दबाब दिइने गरेको पाइन्छ’, बाँके प्रहरी प्रवक्ता डाँगीले भने, ‘त्यस्ता प्रस्ताव बहिष्कार गरेर जोगिनु आवश्यक छ ।’

Exit mobile version