बाँकेका किसानहरूले तीन तहकै सरकारले किसान मैत्री बजेट र सरकारले समृद्धिका लागि त्यसखालको नीति लिनु पर्ने बताएका छन् । अखिल नेपाल किसान महासंघ बाँकेले शनिबार बाँकेको खजुरामा आयोजना गरेको कार्यक्रममा अगुवा किसान तथा नेताहरूले किसानहरूले मलबिउदेखि सहुलियत ऋण, उत्पादनको बजारीकरण, प्रोत्साहनसम्मको समस्या एकातिर झेलिरहेको र अर्को तिर युवाहरू पलायन हुँदा खेतबारी बाँझै रहने अवस्था रहेको बताएका हुन् ।
अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष कृष्ण विक्रम केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि, महासंघका केन्द्रीय महासचिव सरिता भुषालले राजनीतिक व्यवस्था परिवर्तन हुँदा पनि किसानको अवस्थामा परिवर्तन हुन नसकेको भन्दै त्यसको समीक्षा गरिनुपर्ने बताइन् ।
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र गिरीले किसान मैत्री बजेटका लागि वडादेखि केन्द्रसम्म दबाब सिर्जनाका लागि कार्यक्रमहरू अघि बढाइने बताएका थिए ।
त्यस्तै महासंघका केन्द्रीय सचिव आरती पौडेलले किसानलाई प्रविधि मैत्री बनाइनुपर्ने तथा सहुलियत ऋणमा पहुँच बढाउनु पर्ने बताएकी थिइन् ।
नेकपा एमाले बाँकेका इन्चार्ज शान्ति ढकालले किसानको हकहितका लागि महासंघले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताएकी थिइन् । नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले किसानको समस्या पहिचान गरी समाधान उन्मुख हुन महाधिवेशन सफल हुने बताए । नेकपा एमाले प्रदेश सदस्य किस्मत कुमार कक्षपतिले नेकपा एमालेको सरकारमा हुँदा भएका कामहरू उल्लेख गर्दै आगामी निर्वाचनमा एमालेको एकल सरकार भए समृद्धि प्राप्तिका लागि किसानहरूले प्राथमिकता पाउने धारणा राखे । अधिवेशन अन्तर्गत आवश्यक पद भन्दा आकांक्षी बढी भएपछि सहमतिको प्रयास शनिबार सफल भएन । अधिवेशनका अध्यक्ष मण्डलका सदस्य समेत रहेको नेकपा एमाले बाँकेका सहसचिव किशोर थापाले एउटै पदमा आकांक्षी बढी भएपछि निर्वाचन प्रक्रिया आइतबार हुने जानकारी दिए ।