सहरमा नयाँ ‘ग्याङ’, आतंकको ‘रिहर्सल’

अबैध हतियार सहित चारजना ब्यक्ति पक्राउ परेपछि बाँके प्रहरीले नेपालगन्जमा नयाँ अपराधिक ग्याङको संगठित अभ्यासको रहस्य फेला पारेको छ ।

शनिवार राती नेपालगन्जका युवाहरूको एउटा समूहले ‘आतंकको रिहर्सल’ गरेपछि चनाखो बनेको बाँके प्रहरीले जसै उनीहरूलाई नियन्त्रणमा लिन खोज्यो, थाह पायो, ‘अर्गनाइज्ड क्रिमिनल ग्याङको प्राक्टिस’ भइरहेको रहेछ । यो कुरा स्वीकार गर्र्दै बाँके प्रहरी प्रवक्ता, डिएसपी दीपक पातलीले दैनिक नेपालगन्जसँग भने, ‘उनीहरूको अपराधिक पृष्ठभूमि, संगठन र संलग्नताको गहिराईबारे गम्भीर अध्ययन अनुसन्धान भइरहेको छ ।’

खुलेआम पेस्तोल देखाउँदै सुर्खेतरोस्थित नमस्ते दोहोरीबाट निस्किएका विश्वविजय पोख्रेल, बिशाल आउजी, अस्मित मल्ल र सौगात श्रेष्ठसहितको त्यो ‘ग्याङ’ले नेपालगन्ज–१८ विशालनगर चोकस्थित खुला मैदानमा भइरहेको रात्री क्रिकेटमा खुकुरी नचाउँदै ‘फायर खोलेपछि’ प्रहरी कारबाहीमा उत्रिएको हो । बाँके प्रहरीका अनुसार, पक्राउ परेका उनीहरू नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का हुन् । २० देखि ४० वर्ष उमेर समूहका उनीहरूमध्ये धेरैजसो अपराधिक पृष्ठभूमिका पाइएकाले ग्याङ बनाएर आतंक मच्याउने नियत र अभ्यास देखिएको छ ।

‘नमस्ते दोहरीबाट बाहिर निस्की साथमा बोकेको पेस्तोलबाट गोली पड्काई बा ४ च ३०७१ नं. को कार प्रयोग गरेर उनीहरू विशालनगर चोक पुगेको देखिन्छ,’ घटनाक्रमबारे प्रहरी प्रवक्ता डिएसपी पातली भन्छन्, नेपालगन्ज– १८ स्थित बिशालनगर चोकमा भैरहेको नाइट क्रिकेट प्रतियोगितामा पुगेर खेल भइरहेको स्थानमा हुल हुज्जत गर्दै खुकुरी देखाएर उपस्थित मानिसहरूलाई आतंकित बनाउनुका साथै पेस्तोलबाट गोली पड्काई भागेकोपछि प्रहरीले प्रक्राउ गर्नु परेको हो ।’ आतंक रोक्न खोज्दा प्रहरीलाईनै आक्रमण गर्ने जोखिमसम्मको अवस्था देखापरेको प्रत्यक्षदर्शी भन्छन् । ‘निजहरूलाई पिछा गर्दै जाँदा जिल्ला बाँके कोहलपुर न.पा.१० हाई स्कुलबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाइएको छ,’ बाँके प्रहरी प्रवक्ता पातलीले भने । उनीहरूबारे थप अध्ययनपछिमात्रै धेरै कुरा खुल्ने उनको भनाइ छ ।

Exit mobile version