जडिबुटी व्यवसाय क्षेत्रका अगुवाहरूले व्यवसायिक जडिबुटी खेतीले मुलुकलाई आर्थिक समृद्धि तर्फ डोर्याउने सम्भव रहेको बताएका छन् । तर, त्यसका लागि राज्यबाट उचित प्रयास आवश्यक रहेको उल्लेख गर्दै व्यवसायीहरूले राज्यको जडिबुटी खेती तर्फ आकर्षित गर्ने स्पष्ट नीति, लगानी र प्रवद्र्धनका कार्यक्रमको खाँचो रहेको औंल्याए ।
शनिबार नेपालगन्जमा आयोजित नेपाल जडिबुटी व्यवसायी संघको २७ औं साधारणसभामा नेपालमा हुने जडिबुटीको पहिचान र त्यसको बिक्री तथा जडिबुटी खेतीमा राज्यले प्रोत्साहन गर्न नसकेको धारणा व्यवसायीहरूको थियो । ‘हाम्रै वरपर र प्राकृतिक रूपमा अथाह जडिबुटी रहेका छन्, तर आफ्नै घरवरपर पाइने जडिबुटीको महत्व आम नागरिकले बुझन् सकेका छैनन्, बुझाउन सकिएको छैन’, व्यवसायीहरू भन्छन् ।
‘सरकारले जडिबुटी खेती प्रोत्साहित गर्ने नीति ल्याउन आवश्यक छ’, कार्यक्रमका वक्ता व्यवसायीहरूले भने, ‘नेपालमै जडिबुटी खेती ठूलो मात्रामा गर्ने र विदेश जाने जडिबुटी यही प्रशोधन गरी पठाउन सक्ने हो भने किसान, राज्य र व्यवसायी सबैलाई फाइदा पुग्ने, रोजगारी पनि सिर्जना हुन्छ ।’ वक्ताहरूले भने, ‘नेपालको हिमाल, पहाड र तराईमा फरक–फरक जडिबुटीको बिस्तारको उपयुक्त वातावरण छ, तर त्यसमा राज्यले अझै बेवास्ता गरेको छ ।’
नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंक प्रसाद शर्माले नेपालमा जडिबुटीबाट प्रशस्त सम्भावना रहेपनि त्यसतर्फ कसैको गम्भीर ध्यान र चासो पुग्न नसकेको बताए । उनले नेपालको घरघरमा जडिबुटीको उत्पादन भैरहेको बताए । ‘हाम्रै वरपर, हाम्रै घरमा जडिबुटी रहेका छन्, तर त्यसको उचित व्यवस्थापन हुन सकेको छैन’, उनले भने । व्यवसायिक रूपमा खेतीको प्रशस्त सम्भावना औंल्याउँदै अध्यक्ष शर्माले त्यसका लागि सरकारले प्रोत्साहित गर्ने नीति र बजेट ल्याउनु पर्ने धारणा राखे । अध्यक्ष शर्माले जडिबुटीको बजारीकरणमा समस्या नरहेको स्पष्ट पारे । कोरोना पछि जडिबुटीको महत्व मानिसहरूले बुझ्दै गएपनि व्यवसायिक जडिबुटी खेतीका लागि धेरै काम गर्नुपर्ने बताए ।
कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य मिना बोहरा सिद्दिकीले जडिबुटीबाट आयस्रोत बढाउन सकिने बताइन् । उनले जडिबुटीमा किसानलाई आकर्षित गर्नका लागि बिउ, बिजनको व्यवस्था गरिने उल्लेख गर्दै यसबारे पटकपटक प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताइन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले जडिबुटी नेपालको डायमण्ड भएपनि मुलुकले चिन्न नसकेको बताए ।
संघका महासचिव भानुभक्त रिजालले सञ्चालन तथा बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत सरिता ज्ञवालीले गरेकी थिइन् ।
जडिबुटी व्यवसायी संघका पूर्व अध्यक्ष मो. याकुव अन्सारीले गाउँ, टोलटोलमा जडिबुटी व्यवसायीलाई अनावश्यक कर लगाइने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपालगन्ज भन्सार प्रमुख जनार्दन पौडेल, विभिन्न जिल्लाबाट आएका संघका प्रतिनिधि, जडिबुटी व्यवसायी लगायतको सहभागिता रहेको थियो ।
