नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय बालभेलाको आयोजना गरिएको छ । दुई दिनसम्म चल्ने बाल भेलाको शनिबार उद्घाटन गर्दै सरोकारवालाहरूले तीन तहकै सरकारलाई बालबालिकाका सवालमा संवेदनशील बनाउन पहिलो पटक यसखालको भेला आयोजना गरिएको उल्लेख गरे ।
लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा मन्त्री जन्मजय तिमिल्सिनाले विषयवस्तुको संवेदनशीलताबारे प्रकाश पारे । ‘बालअधिकारको अभ्यास, सम्मान र अर्थपूर्ण बालसहभागिताको प्रभावकारी प्रवद्र्धन गर्ने उद्देश्यले बालभेलाको आयोजना गरिएको हो’, बालभेलाको संयोजन गरिरहेको पिस नेपालका अध्यक्ष मणि प्रसाद गैरेले भने, ‘प्रदेश स्तरीय बाल समूह सञ्जाल गठन गरेर उनीहरूलाई अभिमूखिकरण पनि गर्नेछ ।’ आज आइतबार भेलाले बालबालिकाका अधिकारसँग जोडिएर घोषणापत्र जारी गर्ने जानकारी दिंदै अध्यक्ष गैरेले दैनिक नेपालगन्जसँग भने, हाम्रो उद्देश्य प्रत्येक पालिका, प्रदेश सरकार र केन्द्र सरकार बालअधिकारका सवालमा संवेदनशील बनोस् भन्ने हो ।’
भेला उद्घाटन कार्यक्रममा मन्त्री तिमिल्सिना, बाँके जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्य, डुडुवाका अध्यक्ष नरेन्द्र चौधरी, लुम्बिनी प्राविधिक विश्वविद्यालयका सहप्राध्यापक प्रतिक चन्द, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङ्ग , बाँके प्रहरी प्रमुख अंगुर जिसीलगायतले बोलेका थिए ।
