जिल्ला स्तरीय ‘बाँके एमटिबी रेस’ साइक्लिङ्ग भोलि

बाँकेमा पहिलो पटक जिल्ला स्तरीय एमटिबी साइक्लिङ्ग दौड प्रतियोगिता हुने भएको छ । ‘बाँके एमटिबी रेस २०२५’ नाम दिएर नेपालगन्ज बाइसाइकलले टिम डी–एड्ज सँगको सहकार्यमा यसखालको आयोजना गर्न लागेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

‘वास्तवमा एमटिबी साइक्लिङ्ग रेस पहिलो पटक नेपालगन्जमा हुँदैछ’, आयोजक नेपालगन्ज बाइसाइकलका प्रबन्ध निर्देशक गगन सिंह थापाले भने । भोलि शनिबार हुने प्रतियोगिता डुडुवा–५ स्थित बाबुकुँवा वनको सिद्दिविनायक पार्क स्थित ट्रयाकमा हुनेछ ।

‘विभिन्न पाँच विधामा हुने प्रतियोगिताका लागि पाँच किलोमिटरको ट्रयाक उपयोग हुनेछ’, ५० खेलाडी प्रतिस्पर्धाको टुंगो लागेको जानकारी दिंदै थापाले पत्रकारहरूसँग भने । उनका अनुसार, विभिन्न ५ विधामा साइकल दौड हुनेछ ।

आयोजकका अनुसार, जूनियर ब्वाइज, इलिट मेल, इलिट फिमेल, मास्टर मेल र भेटेरान मेल विधा प्रतियोगितामा समावेश छन् ।

‘यो खेल माउन्टेन बाइसाइकलिङको क्रस कन्ट्री फर्मेटमा खेलाइने छ’, पत्रकार सम्मेलनमा थापाले विभिन्न प्राविधिक तयारीहरू पूरा भएको जानकारी दिंदै भने, ‘पाँच किलोमीटरको रेस ट्र्याकमा क्याटोगोरी अनुसार २ देखि ४ ल्याप निर्धारण गरिएको छ ।’

प्रतियोगिताका सहआयोजक टिम डी–एड्जका प्रमुख दिनेश थापा मगर लगायत साइक्लिङ्ग क्षेत्रका विभिन्न व्यक्तित्व पत्रकार सम्मेलनमा सहभागी थिए ।

Exit mobile version