देशमा आजः ८ बजे ८ खबर

१. राष्ट्रियसभाको आइतबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष २०८०÷८१ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । सर्वेक्षणमा गत आर्थिक वर्षको पूरा अवधि र चालुको आवको आठ महिनासम्मको सङ्घ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक, क्षेत्रगत विकास तथा सुशासनको विश्लेषण गरिएको छ ।

२. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद्को गतिरोध अन्त्यका लागि ध्यानाकर्षण गराएको छ । पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर संसद्मा देखिएको गतिरोध हटाउने विषयमा ध्यानाकर्षणपत्र बुझाएको हो ।

३. नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१÷२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ ।

४. अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडक विस्तारले तीव्रता पाएको छ । तीन वर्षमा सम्पन्न गर्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेल सडक विस्तार गर्न छुट्टाछुट्टै दुई वटा ठेक्का लागेको थियो ।

५. पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियान अन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ ।

६. राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ ।
हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताए ।

७. राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम आइतबार पारित भएको छ ।

८. नेपाली कांग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्ग स्थित सडकमा प्रदर्शन गरेको हो ।

Exit mobile version