‘नेपालगन्जमा इतिहास रचिँदैछ, नयाँ वर्षको पूर्वसन्ध्याको धमाकेदार सांगीतिक शो गर्न लागिएको छ,’ होटल सिद्धार्थमा शनिवार पत्रकार सम्मेलननै गरेर सिद्धार्थका कलस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्टले भने, ‘होटल सिद्धार्थमा, छेवाङ एन्ड द क्रेटर्स ब्यान्डको पहिलोपटक लाइभ शो गरिंदैछ ।’
नेपाली नयाँ वर्षलाई वर्षेनी नयाँनयाँ इभेन्टबाट उत्सवमय मनाउदै आएको नेपालगन्जस्थित होटल सिद्धार्थले यसपटक झनै विशेष गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
‘पश्चिम नेपालको सांगीतिक इतिहासमा पहिलोपटक, देशभरि लाखौंको मन जितिसकेको चर्चित ब्यान्ड छेवाङ एन्ड द क्रेटर्स ब्यान्डले नेपालगन्जको होटल सिद्धार्थ मा धमाकेदार लाइभ प्रस्तुति दिन लागेका छन्,’ होटलका जनरल म्यानेजर बद्री कोइरालाले पत्रकारहरुसँग भने । उनका अनुसार, नयाँ वर्षको पूर्वसन्ध्याको अवसरमा आयोजना हुने यो विशेष कार्यक्रमले शहरमै ऐतिहासिक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार, छेवाङ एन्ड द क्रेटर्स ब्यान्ड ले ‘जाउँ हिँड कान्छी’, ‘इशाराले बोलाउनु पर्दैन’, ‘कस्तो माया तिमीसँगै बस्यो’, ‘आउँदै छु हेर तिमीलाई लिन’, ‘जाउँ हिँड माया काठमाडौँ सहर’, ‘मेरो संसार तिमी मेरो जिउने आधार तिमी’, जस्ता दर्जनौँ हिट गीतहरू प्रस्तुत गर्दै दर्शकलाई नचाउने छन् ।
सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेले सिद्धार्थले स्थानीय प्रतिभालाई पहिलो प्राथमिकता राखेर काम गर्दै आएको बताए । ‘यसपटक कार्यक्रमको सुरुवातमा द समय ब्यान्ड’ ले सांगीतिक माहोल तताउने छन्,’ कार्यकारी निर्देशक न्यौपानेले स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक नृत्य प्रस्तुति रहने जानकारी दिंदै पत्रकारहरुसँग भने, ‘यसले कार्यक्रममा मौलिकता र क्षेत्रीयताको मिठास थप्नेछ ।’
आयोजक सिद्धार्थका अनुसार, कार्यक्रमको अन्त्यतिर, नेपालको चर्चित महिला डीजे ‘डीजे पिजा’को २ घण्टा लामो नन स्टप डिजे सेसन हुनेछ । नयाँ वर्षको स्वागतमा हुने यो कार्यक्रमको सम्पूर्ण सञ्चालन लोकप्रिय उद्घोषक समीरमान श्रेष्ठले गर्ने भएका छन् । ‘उनका रमाइला प्रस्तुति शैली, उत्साहजनक संवाद र दर्शकसँगको विशेष कनेक्सनले सम्पूर्ण माहोललाई अझै रमाइलो बनाउनेछ,’ सिद्धार्थका कलस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर भट्टले भने ।