नयाँ स्टार्टअपमा महाराजाको रेष्टुरेन्ट

ट्रेडिङ क्षेत्रमा मोवाइल ग्याजेट कारोबारका लागि आफ्नो पहिचान बनाउन सफल, नेपालगन्जका युवा उद्यमी डम्बर बहादुर चन्दले रेष्टुरेन्ट क्षेत्रमा लगानी विस्तार गरेका छन् ।

‘यो मेरो नयाँ व्यवसाय विस्तार हो, यसलाई स्थापित गर्न सकियो भने थप लगानी गर्दै अगाडी बढ्ने सोंच हो,’ नेपालगन्जमा महाराजा मोवाइलका पाँच छुट्टाछुट्टै ‘आउटलेट’ र रुकुम पश्चिममा महाराजा मोवाइलको शाखा विस्तार गरिसकेका चन्दले दैनिक नेपालगन्जसँग भने, ‘ओभरल लगानी २५ करोड पुगेको छ ।’

नयाँ वर्षको दिन पारेर सोमवार चन्दले झण्डै डेढ करोड लगानीको ‘महाराजा रेष्टुरेन्ट’को शुभारम्भ गरेका हुन् । २०६७ सालदेखि मोवाइलसहित इलेक्ट्रोनिक्स कारोबारमा लागेका चन्दले सम्भावनाका आधारमा नेपालगन्जमा लगानी विस्तार गर्दै जाने योजना सुनाए ।

आफैपनि युवा उद्यमी, लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेश कुमार अग्रवालले महाराजा रेष्टुरेन्टको उद्घाटन गरे । मन्त्री अग्रवालले संघका प्रवक्ता चन्दले छोटो अवधिमै व्यावसायमा प्रगति गरेको देख्दा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए । मन्त्री अग्रवालले भने, ‘म गृह जिल्ला भएको बेला यहाँका उद्योगी व्यवसायी साथीहरूले आयोजना गरेका कार्यक्रममा सकभर सहभागी भएर हौसला बढाउने गर्छु । उहाँहरूको प्रगतिमा खुसी हुन्छु ।’

शुरुवातमा १८ जनालाई रोजगारी दिंदै रेष्टुरेन्ट सञ्चालनमा ल्याएका युवा उद्यमी चन्दले सम्भावनाका आधारमा लगानी, जनशक्तिसहितको सेवा विस्तार गर्दै जाने बताए । ‘बैंकको सकारात्मक हातेमालोले व्यवसाय विस्तार र सञ्चालनमा सहयोग पुगेको छ,’ नयाँ स्टार्टअपको घोषणा गरिरहँदा युवा उद्यमी चन्दले भने ।

सञ्चालक चन्दका अनुसार, रेष्टुरेन्टमा एकै पटकमा १२५ जनासम्मले सेवा लिन सक्ने रेष्टुरेन्टमा १२ देखि १८ जना क्षमताका तीन वटा क्याबिन छन् । जहाँ कर्पोरेट मिटिङ वा बर्थ डे मनाउन सकिन्छ । सात वटा साना प्राइभेसी क्याबिन पनि छन् ।

रेष्टुरेन्टले ग्राहकलाई आकर्षित गर्न महाराजा स्पेशल लस्सी, ह्याकुला दम बिरयानी, खाना सेट र कफीलाई सहुलियत दरमा मेनुमा राखेको छ । युवा उद्यमी चन्द भन्छन्, ‘हाम्रो रेष्टुरेन्टमा आउने ग्राहकले क्याबिन, रेष्टुरेन्ट र बार जहाँ बसे पनि सबैतिर पूर्ण रूपमा एसी जडान गरिएको छ । नेपालगन्जको चर्को गर्मीमा एसी रुममै बसेर आफ्नो रोजाइको गुणस्तरीय परिकार खान पाउँछन् ।’

पछिल्ला दिनमा नेपालगन्ज आन्तरिक तथा भारतीय पर्यटकहरूका लागि गन्तव्यका रूपमा विकास र विस्तार भइरहँदा लगानीका सम्भावनामा पनि सकारात्मक वातावरण बनिरहेको व्यवसायीहरूको धारणा छ । त्यसै अनुसार होटल, रेष्टुरेन्ट तथा क्याफेहरूमा लगानीको आकर्षण देखिएको हो ।

Exit mobile version