नविन काँग्रेस बनाउने अठोटका साथ नेपाली काँग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन सत्रका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनै पनि राजनितिक दल एकपटक नविन नबन्ने बताउँदै भने, ‘कांग्रेस पार्टी एउटा पुरानो दल हो, पछि आएर नयाँ दलले नयाँ बनाए जस्तो होइन, पुरानो घरलाई व्यवस्थित गरेर जाने भन्ने हो, त्यसैले हामीले केही नयाँ ढंगले काम गर्ने प्रयास गरी रहेका छौ ।’
महामन्त्री शर्माले भने, ‘केही नहुने भन्दा पनि केही हुनेवाला छ, पहिला केन्द्रीय समितिले नै सबै काम गर्ने अवस्था थियो, अब यस्ता क्रियाकलाप परिवर्तन गरेका छौ, केन्द्रिय समितिले केही निर्णय गर्छ, त्यसै अनुरूप कुनै एकलाई जिम्मेवारी दिन्छ त्यही अनुसार तोकिएको व्यक्तिले काम गर्ने गर्दछ ।’
कांग्रेसमा भावना नविन नभएको बताउँदै महामन्त्री शर्माले, ‘आगामी अधिवेशनमा नयाँ पुरानो जो सुकै आएता पनि संयमतापूर्वक एकतापूर्वक नागरिक पंक्तिमा एउटा विश्वास लिएर जानु पर्ने अवस्था छ, नविन बन्ने भनेको नेपाली कांग्रेस पार्टीले पुरानो भावनाको कांग्रेस, नविन सम्भावनाको कांग्रेस भनेर जानु पर्दछ, भावना नयाँ चाहिदैन ।’ देशको नेतृत्व गर्ने अवस्थामा नागरीकले विश्वास गर्ने कांग्रेस बनाउनेका लागि एउटा कांग्रेसले अर्को कांग्रेसलाई विश्वास गर्नु पर्ने समेत नेपाली कांग्रेसका महामन्त्री शर्माले बताए ।
नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले जिल्ला सम्मेलनलाई उत्सवको रूपमा बनाउनु पर्ने बताउँदै भने, ‘आफुले पाएका जिम्मेवारीलाई ध्यान दिनु पर्दछ, नेता केन्द्रीय मात्रै हुँदैन, वडाको क्रियाशिल सदस्य समेत नेता हो ।’ नेपाली कांग्रेसमा एकले अर्काको रिस गर्ने प्रवृति बढ्दै गएको बताउँदै नेता राठौरले भने, ‘लोकतन्त्रवादीले कसैको रिस मान्नु हुँदैन, लोकतन्त्रवादीले प्रतिस्पर्धा गर्नु पर्दछ, रिस गर्ने प्रवृत्ति भएकाहरू लोकतन्त्रवादी हुन सक्दैन ।’ सहमहामन्त्री राठौरले अगाडी भने, ‘समस्या हामी भित्र छ, हाम्रो सोच भित्र रहेको छ, अधिकतम न्याय हुनु पर्दछ तर आफु केन्द्रित छलफल भन्दा पनि देश, राष्ट्र केन्द्रित छलफल हुनु पर्दछ ।’
नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा सम्पन्न जिल्ला सम्मेलनमा केन्द्रीय सदस्य दिपक राज गिरी, सन्जय गौतम, डा.गोपाल दहित, मैकुलाल वाल्मीकी, लुम्बिनी प्रदेश नेपाली कांग्रेसका अध्यक्ष अमर पुन, तरुण दल केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, महासमिति सदस्य लक्ष्मी नारायण शाह, कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्य,डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, बैजनाथ गाउँपालिका अध्यक्ष छब्बन खा, नेपाली कांग्रेस क्षेत्र नम्वर २ का क्षेत्रीय सभापति रमेश गुप्ता, नेपाल किसान संघ बाँकेका अध्यक्ष लाहुराम थारु, नेपाली कांग्रेस जिल्ला सदस्य उमा थापा मगर लगायतले सम्बोधन गरेका थिए ।
नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले संचालन गरेको कार्यक्रममा उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेस सास्कृति संघको तर्फबाट नृत्य प्रस्तुत गरीएको थियो भने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सम्मेलन बीचमा नेपाली कांग्रेस बाँके र नेपाल प्रेस युनियन बाँके शाखाले नयाँ वर्षको भित्तेपात्रो समेत विमोचन गरिएको थियो ।