नेपाल पत्रकार महासंघ बाँकेको साधारणसभा आज

सक्रिय पत्रकार र सञ्चार संस्थालाई पुरस्कृत गरिंदै

नेपाल पत्रकार महासंघ बाँके शाखाले आज शनिबार आफ्नो १६ औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ ।

साधारणसभामा जिल्लामा पत्रकारितामा सक्रिय पत्रकार तथा सञ्चार संस्थाहरूलाई विभिन्न विधागत पुरस्कार प्रदान गरिने भएको छ । त्यसका लागि शाखाले यसपटक पहिलोपटक सार्वजनिक रूपमा आवेदन आह्वान गरेर पुरस्कार छनोट प्रक्रिया अघि बढाएको थियो ।

महासंघका सचिव कृष्ण ओलीका अनुसार, पत्रकारहरूले आफूले तयार पारेका समाचार सामग्रीसहित आवेदन दिएका थिए । ती आवेदनका आधारमा शाखा कार्यसमितिले पुरस्कार प्राप्त गर्ने व्यक्ति र संस्थाको टुंगो लगाएको हो ।

शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पुरस्कार छनोटसहित साधारणसभाका अन्य तयारी पूरा गरेको थियो । ‘सर्वसम्मत ढंगबाट पुरस्कार छनोट गरिएको छ,’ सह–सचिव रविन्द्र सिंह ठकुरीले दैनिक नेपालगन्जसंग भने, ‘पारदर्शी ढंगबाट एउटा थिति बसाल्ने कुरामा सबै साथीहरु एकमत हुनु भएको हो ।’

महासंघले स्थापना गरेका विभिन्न अक्षयकोष अन्तर्गतका पुरस्कार वितरण गर्ने कार्यक्रम तय गरिएको पनि सह–सचिव ठकुरीले बताए ।

महासंघले दिएको जानकारी अनुसार, बेलमती शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारका लागि देवेन्द्रराज पौडेल र गणेश रावत छनोट भएका छन् । रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार डिल्ली शाहीलाई प्रदान गरिदैछ ।

राम आधार–रामप्यारी पत्रकारिता पुरस्कार पवित्रा परियार र सजल गैरेलाई दिइने भएको छ । भने, माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार प्रियास्मृति ढकाललाई प्रदान गरिने महासंघले जनाएको छ ।

संस्थागततर्फको आँखा स्वास्थ्य शिक्षा पत्रकारिता पुरस्कार स्वास्थ्य पेज डटकमलाई प्रदान गरिनेछ । सूर्यनाथ गौतम स्वास्थ्य पत्रकारिता पुरस्कार अन्तर्गत मुटु रोगसम्बन्धी पत्रकारिताका लागि मधु पौडेल छनोट भएको महासंघले दिएको जानकारीमा उल्लेख छ ।

त्यस्तै, महासंघले संस्थापकका सम्मानमा स्थापना गरेको लियाकत अली पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कारको राशि समेत वृद्धि गरेको जनाएको छ । ती पुरस्कार पनि साधारणसभामै वितरण गरिने कार्यक्रम रहेको सचिव ओलीले बताए । त्यसको टुंगो लगाइएपनि महासंघले नाम सार्वजनिक गरेको छैन ।

‘यसपटक हामीले सार्वजनिक रूपमा आवेदन आह्वान गरेका थियौं,’ सचिव ओलीले भने, ‘पत्रकारहरूले आफ्ना प्रकाशित सामग्रीसहित आवेदन दिनुभएको थियो । त्यसकै आधारमा निष्पक्ष रूपमा छनोट गरिएको हो ।’

महासंघले जिल्लामा सक्रिय पत्रकारिता गरिरहेका पत्रकार र सञ्चार संस्थाहरूको योगदानको मूल्यांकन गर्दै पुरस्कारमार्फत प्रोत्साहन गर्ने उद्देश्य राखेको अध्यक्ष गिरीको भनाइ छ ।

Exit mobile version