नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।
विद्युत् खपत बढाउने र सहरमा सौन्दर्य अभिवृद्धि गर्ने लक्ष्यका साथ भूमिगत प्रसारण लाइन निर्माण हुन लागेको बताइएको छ ।
प्रस्तावबमोजिम बालाजु महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म सो प्रसारण लाइन जोडिनेछ । बालाजु सवस्टशेनदेखि सिंहदरबारसम्म जोडिने सो प्रसारण लाइनको लम्बाइ ११ दशमलव ९२ किलोमिटर रहनेछ ।
डलब सर्किट सो प्रसारण लाइन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुनेछ । यस्तै, महाराजगञ्जमा एक सय ३२/११ केभी राजदरबारमा एक सय ३२ /११ केभी क्षमताको सवस्टेशन निर्माण हुनेछ ।
यस्तै, रत्नपार्कमा एक सय ३२/११ केभी र सिंहदरबारमा एक ३२/६६/११ केभी क्षमताको सवस्टेशन समेत निर्माण हुनेछ । सो प्रसारण लाइन र सवस्टेशन निर्माणका लागि अनुमति मात्रै प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको छ ।
सो प्रसारण लाइनको क्षमता १३२ केभी बराबर रहनेछ । भूमिगत डबल सर्किट रहने सो प्रसारण लाइनमा ३५० मेगावाटसम्मको विद्युत् शक्ति प्रवाह हुनेछ ।
सो प्रसारण लाइन लाइनमा २१ ‘ज्वाइन्ट पिट्स’हरु निर्माण हुनेछ । त्यसको अधिकतम दूरी ५०० मिटरसम्म हुनेछ । आयोजना निर्माणको लागि कूल एक दशमलव ६२ हेक्टर जमिन आवश्यक पर्नेछ ।
सो प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा विद्युत् ऐन, २०४९ को दफा २४ बमोजिम भूक्षय, बाढी, वायुप्रदूषण आदिद्वारा वातावारणमा उल्लेखनीय प्रतिकुल नपर्ने गरी निर्माण गर्नुपर्नेछ ।
विभागले आयोजनाका सम्बन्धमा आवश्यक सुझाव र सल्लाह उपलब्ध गराउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । प्राधिकरणले यसअघि रत्नपार्क महाराजगञ्ज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ । काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा समेत भूमिगत प्रसारण लाइन निर्माणको क्रममा छ ।
पोखरा र भरतपुरमा समेत भूमिगत प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । सहरी सौन्दर्य बढाउने र सहज रुपमा विद्युत् उपलब्ध गराउने उद्देश्यका साथ सुरु गरिएको भूमिगत प्रसारण लाइन निर्माण तोकिएको समयमा पूरा नहुँदा अपेक्षित लक्ष्य हासिल हुन सकेको छैन ।





























