विपद् व्यवस्थापन गर्न समझदारीपत्रमा हस्ताक्षर

बाँकेका आठ स्थानीय तहले विपद् व्यवस्थापन गर्नका लागि साझा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । अन्तरपालिका समन्वय, सहकार्य एवं अनुभव आदान प्रदान सम्बन्धी आइतबार भएको समन्वय बैठकमा सो समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

जिल्लाका स्थानीय तहबीच विपद् जोखीम न्युनिकरण र व्यवस्थापनको क्षेत्रमा प्रभावकारी रुपले कार्य गर्नको लागी समन्वय, सहकार्य र श्रोत साझेदारीलाई प्रवर्धन गर्ने, विपद् व्यवस्थापनको क्षेत्रमा स्थानीय तहमा भएका असल अभ्यास र सिकाईको अनुशरण गर्दै आवश्यक पर्दा एक स्थानीय तहले अर्को स्थानीय तहलाई मानवीय, आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख छ ।

त्यस बाहेक विपद् व्यवस्थापनमा सहयोग आदान प्रदान गर्न तथा सहकार्य गर्न श्रोत साझेदारीको लागी सम्बन्धित स्थानीय तहको मौजुदा कानून अद्यावधिक गर्ने,आगोलागिको समयमा कुनै स्थानीय तहले दमकल सेवा माग गर्दा तुरुन्त उपलब्ध गराउनुपर्ने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ ।

सबै स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका एम्बुलेन्सहरुको विवरण अद्यावधिक गरी आपत र विपद्को समयमा तुरुन्तै सेवा दिन प्रवन्ध मिलाउने, विपद् सुचना प्रणालीलाई प्रभावकारी बनाउन सबै स्थानीय तहले स्थानिय आपतकालीन कार्यसंचालन केन्द्रको स्थापना एवं सुदृढीकरण गरी विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने लगायत समझदारी पत्रमा जनाइएको छ ।

विपद्को समयमा आवश्यक पर्ने उद्दार, राहत तथा पुनस्थापनाको लागि आवश्यक खाद्यान्न, लत्ता कपडा, स्वास्थ्य सेवा, अस्थायी आवास आदि जस्ता अत्यावश्यक सेवा तत्काल प्रदान गर्ने उदेश्यले त्यस्ता सामाग्रिहरूको निश्चित मात्रामा भण्डार गर्ने पनि समझदारीपत्रमा उल्लेख छ । समझदारी पत्रमा नेपालगन्ज उपपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आर्चाय, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाह लगायत विभिन्न पालिकाका विपद सम्पर्क व्यत्तिले हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा वोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद सबैको साझा दायित्वको विषय भएको बताए । उक्त बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका विपद फोकल पर्सन दीपेन्द्र श्रेष्ठ, परियोजनाका जनसम्पर्क अधिकृत रूपन ज्ञवालीले परियोजानको विभिन्न विषयमा जानकारी दिए । सबै पालिकाले विपदमा गरेका विभिन्न असल कामको अभ्यासबारे समेत जानकारी दिएका थिए ।

यूरिपियन युनियनको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) सञ्चालनमा रहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडीपी, युनिसेफ, युएन ओमेन र एचआइको साझेदारी एवं सिडीएम नेपालको प्राविधिक सहयोगमा उपमहानगरपालिकामा सञ्चालित परियोजनाले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

Exit mobile version