नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले स्थिरताका लागि गठबन्धन सरकार बनेको बताएका छन् ।
नेकपा (एमाले)स्थानीय विकास विभागले शनिबार नेपालगन्जमा आयोजना गरेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट प्रत्यासी उम्मेदवारलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले नेकपा एमाले–काँग्रेस गठबन्धन सरकार लोकतन्त्र संकटमा परेपछि एक भएको बताए । ‘जबजब लोकतन्त्र संकटमा पर्छ तबतब ठूला पार्टी लोकतन्त्र जोगाउन एक हुन्छन्’, एमाले महासचिव पोखरेलले भने ।
एमाले महासचिव पोखरेलले स्थायी सरकार बिना विकास सम्भव नहुने उल्लेख गर्दै त्यसका लागि एमालेले सरकारको नेतृत्व लिएको बताए । उनले एमाले जबजब नेतृत्वमा पुग्यो विकास निर्माणका काम भएको उल्लेख गर्दै आगामी निर्वाचनमा एमालेको एकत बहुमत आउने गरी खटिन पार्टी नेता कार्यकर्तालाई निर्देशन दिए ।
माओवादीले जनयुद्धदेखि हालसम्म देशलाई विकास निर्माणमा पछाडि धेकेलेको आशय व्यक्त गर्दै कम सिट ल्याउँदा पनि म्याजिकल नम्बर भन्दै अस्थिरतामा मुलुकलाई धकेल्ने काम गरेको महासचिव पोखरेलले व्यक्त गरे । ‘माओवादीले विकास निर्माण, लोकन्त्रलाई आत्मसात गरेन, सुकुुम्बासीका नाममा सरकारी र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका बस्तीको समस्या समाधान गर्न अध्यादेश ल्याउँदा त्यसको विरोध गर्यो’, उनले भने, ‘समस्या समाधान भए एजेण्डा नरहने हुँदा माओवादीले अध्यादेशको विरोध गरिरहेको छ ।’
एमालेलाई बलियो बनाउनका लागि वडा केन्द्रित ‘जरा अभियान’ सञ्चालन गरिएको महासचिव पोखरेलले बताए । उनले जरा केन्द्रित अभियान र मिसन–२०८४ ले एमालेलाई अझ सशक्त शक्तिका रूपमा स्थापित गर्ने बताए ।
महासचिव पोखरेलले नेकपा एमालेलाई निर्णायक शक्ति निर्माण गर्ने यात्रामा स्थानीय तहका पूर्वजनप्रतिनिधिका साथै तहका युवा वर्गको योगदान हुनेमा आफू विश्वस्त रहेको बताए । सुदृढ राजनीतिक दलबाट नै राष्ट्र निर्माण हुने उनको तर्क थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो दल क्रियाशी रहेको उनको अभिमत थियो ।
नेकपा (एमाले) बाँके स्थानीय विकास विभाग प्रमुख मीन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्यसूर्य ढकाल, दीपा शर्मा, शान्ति ढकाल,मोहम्मद हारुन हलवाई, पशुपतिदयाल मिश्रा सहभागी थिए ।