श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्र पाणी पाण्डेले श्रम कानुन कार्यान्वयन, न्यूनतम पारिश्रमिक र श्रमिकको अधिकार सुनिश्चित गर्न श्रम तथा रोजगार कार्यालयलाई प्रभावकारी अनुगमन गर्न निर्देशन दिएका छन् ।
मंगलबार श्रम तथा रोजगार कार्यालय, नेपालगन्जको अनुगमन तथा निरीक्षण गर्दै महानिर्देशक पाण्डेले कार्यालयमा दर्ता भएका उजुरी, गुनासो, कार्यालयले गरेका फैसला र श्रम निरीक्षणको अवस्थाबारे जानकारी लिएका हुन् । त्यसक्रममा उनले प्रतिष्ठानहरूमा बाल श्रम, न्यूनतम पारिश्रमिक कार्यान्वयन र श्रम कानुन पालना भए नभएको विषयमा नियमित र प्रभावकारी अनुगमन गर्नुपर्ने बताए ।
अनुगमनका क्रममा पाण्डेले औपचारिक क्षेत्रमै श्रमिक अधिकार उल्लंघनका गुनासा बढ्दै गएको बताए । उनले भने, ‘विशेष गरी बैंक तथा वित्तीय संस्थामा ओभरटाइम काम गराएर थप पारिश्रमिक नदिएको गुनासो आउने गरेको छ । निजी अस्पतालमा स्वास्थ्यकर्मीलाई न्यून पारिश्रमिक दिने समस्या पनि देखिएको छ ।’
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको कार्यसमय र पारिश्रमिकका सम्बन्धमा नयाँ निर्देशन दिएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै अबदेखि कार्यालय समयभन्दा बढी काम लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक (ओभरटाइम) दिनुपर्ने व्यवस्था गरेको हो ।
महानिर्देशक पाण्डेले श्रमिक आपूर्तिकर्ता कम्पनीमार्फत काममा लगाइने सुरक्षाकर्मी, सफाइकर्मी लगायतका श्रमिकले समेत सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाइरहेको गुनासो विभागमा आइरहेको बताए । ‘श्रम कानुनविपरीत काम भएको पाइए कानुनी कारबाही हुन्छ,’ उनले भने ।
मंगलवारनै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सुर्खेतको औद्योगिक ग्राममा कार्यरत ५९ जना श्रमिकलाई प्राथमिक उपचारसम्बन्धी एकदिने स्थलगत तालिम पनि सञ्चालन गरेको छ । कार्यक्रममा महानिर्देशक पाण्डेले श्रम कानुन, असल श्रम सम्बन्ध, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी दिएका थिए ।
उनले कार्यस्थल सुरक्षित बनाउनु रोजगारदाताको दायित्व भएको उल्लेख गर्दै श्रमिकको सुरक्षा र स्वास्थ्यलाई बेवास्ता गर्न नहुने बताए । ‘कार्यस्थल सुरक्षित भए मात्रै उत्पादनशीलता र श्रम सम्बन्ध दुवै राम्रो हुन्छ,’ उनले भने ।
श्रम तथा रोजगार कार्यालयको समन्वयमा आयोजित कार्यक्रममा विभाग र वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्यकर्मीले अभ्यासमूलक प्रशिक्षण दिएका थिए । कार्यक्रममा महिला श्रमिकको सहभागिता उल्लेख्य रहेको थियो । सहभागीहरूले तालिम उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका थिए ।






























