स्टार्टअपमा बाँकेका २१ परियोजना

बाँकेका २१ परियोजना सहित देशभरका १ हजार ३ सय १४ परियोजना ‘स्टार्टअप उद्यम कर्जा’को प्रारम्भिक सूचिमा परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कुल ५ हजार १ सय ५८ परियोजनाबाट प्रारम्भिक सूची प्रकाशित गरेको हो ।

सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ मा दिने घोषणा गरेको ‘स्टार्टअप उद्यम कर्जा’ का लागि बाँकेमा सञ्चालित विभिन्न २१ उद्यम त्यसका लागि छनोट भएको हो ।

स्टार्टअप कर्जा न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रूपैयाँसम्म सुहलियत ब्याजदरको कर्जा दिइने छ । कर्जा अवधि अधिकतम पाँच वर्षको हुनेछ । कर्जाको पहिलो किस्ता लिएको एक वर्षपछि सावाँ वा ब्याजको रकम फिर्ता गर्न थाल्नुपर्ने छ ।

प्रारम्भिक सूचीमा परेका परियोजना प्रस्तावकबाट प्रस्तुतीकरणको योजना छ । यसका लागि मितिसमेत तय भइसकेको प्रतिष्ठानले जनाएको छ । उक्त प्रस्तुतीकरणबाट छनोट भएका आयोजनाले यस वर्ष स्टार्टअप उद्यम कर्जा पाउने छन् ।

प्रतिष्ठानका अनुसार २८ पुस २०८१ देखि प्रस्तुतीकरणको मिति तय भएको छ । हरेक दिन चार चरणमा प्रस्तुतीकरण हुने र एक चरणमा पाँच परियोजना प्रस्तावकबाट प्रस्तुतीकरण लिइने प्रतिष्ठानले जनाएको छ ।

प्रस्तुतीकरणका लागि एक परियोजनालाई १० मिनेट समय उपलब्ध हुनेछ । प्रस्तुतीकरणको ढाँचासमेत सार्वजनिक गरिएको छ । प्रस्तुतीकरणका बेला उद्यम÷व्यवसायको तस्वीर र दृष्यसमेत खिचेर १ मिनेट बराबर भिडियो अनिवार्य लिनुपर्ने गरी तोकिएको छ ।

प्रस्तुतीकरणमा आफ्नो परियोजनामा कुन पक्षमा नवीनतम सोच राखिएको छ भन्नेबारे स्पष्ट पार्नुपर्ने भएको छ । परियोजनाबाट उत्पादित वस्तु र सेवा बिक्रीको बजार सम्भावना, कच्चापदार्थ र त्यसको आपूर्ति, उपलब्ध पूर्वाधार, हालको रोजगारी र सिर्जना हुने संख्यासहित विवरण राख्नुपर्ने भएको छ ।

चालु आवमा स्टार्टअप कर्जा कार्यक्रमका लागि सरकारले १ अर्ब रूपैयाँ विनियोजन गरेको छ । यस कार्यक्रम मार्फत ३ प्रतिशत ब्याजदरमा विनाधितो कर्जा प्रवाह गर्ने योजना छ । सोही अनुसार स्टार्टअप उद्यमीबाट प्रस्ताव आह्वान गरिएको थियो ।

निर्धारित समयभित्र ५ हजारभन्दा बढी संख्यामा परियोजना प्रस्ताव आएको थियो । मन्त्रालयले नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न स्टार्टअप कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्रालयले उल्लेख गरेको छ ।

कार्यक्रम कार्यान्वयन गर्न स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ स्वीकृति गरिएको थियो । यसका लागि राष्ट्रि वाणिज्य बैंकसँग सम्झौता गरिएको छ । कर्जा सुरक्षणका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता भएको छ ।

स्वीकृत कार्यविधि बमोजिम औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट ११ भदौ २०८१ का दिन स्टार्टअप उद्यमलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न प्रस्ताव आह्वान गरिएको थियो । ३१ भदौसम्मको समय दिएर आह्वान भएको उक्त अवधिमा भौतिक (अफलाइन) र अनलाइन माध्यमबाट ५ हजार १ सय ५८ परियोजना प्रस्ताव आएको मन्त्रालयले जनाएको छ ।
तोकिएको दिन प्रस्तुतीकरणमा उपस्थित हुन नसके अर्को व्यवस्था नहुने समेत प्रतिष्ठानले जनाएको छ । प्रस्तुतीकरणमा प्रस्तावक स्वयं उपस्थित हुनुपर्ने छ । त्यसबेला व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान÷भ्याटको सक्कल प्रमाणपत्र, कर चुक्ताको सक्कल प्रमाणपत्र र नागरिकता आवश्यक पर्ने जनाइएको छ ।

Exit mobile version